काठमाडौं । सुदूरपश्चिम प्रदेश होमस्टे (घरबास) कार्यशाला गोष्ठी हुने भएको छ । तारा गाउँ विकास समितिले वैशाख २१ र २२ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा थारु सामुदायिक होमस्टे, थारु गाउँमा कार्यशाला गोष्ठी सञ्चालन गर्न लागेको हो ।
कार्यशाला गोष्ठीमा सुदूरपश्चिम प्रदेशभित्र सञ्चालनरत सामुदायिक तथा निजी होमस्टेहरूबाट ७० जना प्रतिनिधिसहित होमस्टेकर्मी, पर्यटन विज्ञ, पर्यटन व्यवसायी र सरोकारवाला गरी झण्डै एक सय जनाको सहभागिता रहने जनाइएको छ । उक्त कार्यशाला गोष्ठीमा होमस्टे (घरबास) पर्यटनको प्रबद्र्धनसँग सम्बन्धित विषय विज्ञद्वारा दुईवटा कार्यपत्र प्रस्तुत हुनेछन् । ‘आन्तरिक सुशासन’ विषयमा पर्यटनविद् डा अलकबाबु प्रसाईं र दिगो होमस्टे पर्यटनको आधार विषयमा रैथाने कृषि तथा होमस्टे अभियन्ता तथा विज्ञ तिलक बहादुर ढकालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यशाला गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथि सञ्चालक र सहभागीबीच अन्तरक्रिया गराइने छ । ती कार्यपत्रमाथि हुने बहस एवं छलफलबाट होमस्टे पर्यटन विकासका लागि योजना, नीति तथा रणनीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, होमस्टे पर्यटन प्रवद्र्धनमा देखिएका गतिरोध अन्त्य गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
सो कार्यशालास्थलको प्राङ्गणमा सहभागी होमस्टे सञ्चालकहरूको प्रचारप्रसार, हस्तकलाका सामग्री, खानाका परिकारहरू र भ्रमण प्याकेज कार्यक्रमसहितका स्टलहरू राखी प्रदर्शनको व्यवस्था मिलाउने तयारी गरिएको आयोजकले जनाएको छ । साथै, कार्यक्रममा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् । यसले सुदूरपश्चिमको संस्कृति कलाको प्रचारप्रसार हुने तथा स्थानीय होमस्टेको विकासमा थप हौसला मिल्ने आयोजकको अपेक्षा छ । साथै, कार्यक्रममा देशभरि सञ्चालनमा रहेका सामुदायिक होमस्टेमध्ये उत्कृष्ट होमस्टेहरूलाई राष्ट्रिय पुरस्कार वितरण गरिनेछ । राज्यको पर्यटन नीतिअनुरूप सञ्चालनमा रहेका होमस्टेहरूमध्येबाट उत्कृष्ट होमस्टे छनौट यसअघि नै गरी सकिएको छ ।
उत्कृष्ट छनौट भएका होमस्टेहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कारसहित सम्मान गर्ने जनाइएको छ । प्रथम, द्वितीय र तृतीय घोषणा भएका सामुदायिक होमस्टेहरूलाई क्रमशः एक लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । तारा गाउँ विकास समितिको अगुवाईमा होमस्टे (घरबास) पर्यटन प्रवद्र्धनको प्रयास हुँदै आएको छ । हाल करिब १५ सय होमस्टे विधिवतरूपमा दर्ता भई अधिकांश सञ्चालनमा रहेको होमस्टेले पर्यटन प्रव।्द्धनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको अवस्थामा यसको थप विकासका लागि सरोकारवाला सबैको सहयोगको अपेक्षा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘होमस्टे कार्यविधि २०६७’ जारी गरेपछि पछिल्लो समयमा होमस्टे पर्यटन विस्तार, विकास तथा प्रवर्द्धनमा समिति केन्द्रित रहेको जनाइएको छ ।