काठमाडौं । नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रूपमा एनसेललाई सम्मान गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित ८औँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।
देशमा आईसीटीको विकास र प्रवर्द्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ का रूपमा मनाइँदै आएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका थिए । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्ध नेपालको अभियानमा गत आर्थिक वर्ष २०८०/८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रबाट सबैभन्दा धेरै कर बुझाएर राष्ट्रलाई पु¥याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को सु–अवसरमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा स्थापित रहँदै आएको छ ।
यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदातालगायतको सम्मानहरू पाइसकेको छ । गत पुसमा पनि संस्थागततर्फ आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर योगदान गरेकोमा एनसेल ललितपुर महानगरपालिकाबाट उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको थियो । एनसेलले स्थापनाकालदेखि गत आव २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरूमा तीन सय ४० अर्बभन्दा बढी कर तथा शुल्कहरू तिरेको छ । गत आवमा मात्रै कम्पनीले २० दशमलव ३० अर्ब कर तथा शुल्कहरू सरकारलाई बुझाएको थियो । त्यसैगरी, कम्पनी एनसेल फाउन्डेसनमार्फत प्रभावकारी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । कम्पनीले आफ्नो सीएसआरअन्तर्गत दुई अर्ब रुपैयाँभन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तरसम्म गरेको दाबी गरेको छ ।