काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले उपत्यकाका चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्ने भएको छ । काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)अन्तर्गत चक्रपथ बाहिरका क्षेत्रमा पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको हो । नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा सुरु गर्न लागिएको सो आयोजनाअन्तर्गत काठमाडौंको बुढानीलकण्ठ, गोकर्णेश्वर र कीर्तिपुर, भक्तपुरको सूूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको पीआईडीका आयोजना उपनिर्देशक एवं प्रवक्ता ई विकेश बधानथाछेले जानकारी दिए ।
आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी एक सय ५१ दशमलव ३० किमि, कीर्तिपुर, काठमाडौं र चन्द्रागिरी नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५ दशमलव ९८ किमि, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा तीन सय आठ दशमलव १५ किमि, कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी दुई सय दशमलव २३ किमि र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा एक सय ३९ दशमलव ७४ किमि गरी ८७५ दशमलव चार किमि खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको छ । यसअन्तर्गत वितरण सञ्जालका आठ सय २८ दशमलव ९२ किमि पीई पाइप र ४६ दशलमलव ४८ किमि डीआई पाइप बिच्छ्याइने पीआईडीले जनाएको छ ।
पीआईडीका अनुसार यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटोछरितोरूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, थिमी, कपन र जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेम्सीकोला क्षेत्र गरी विभिन्न पाँच प्याकेजमा वर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिने प्रवक्ता बधानथाछेले बताए । उनका अनुसार आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिब ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्माण सुरु भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । सोहीअनुसार दोस्रो चरणको निर्माण कार्य अगाडि बढाउनका लागि पीआईडीले आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।
आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालनसहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ । यसअघि, काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (पहिलो चरण)अन्तर्गत काठमाडौं उपत्यकामा करिब ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिब नौ सय ८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कुल एक हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।
यसैगरी, आयोजनाको पहिलो चरणमै काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानी पोखरीहरूमा थोकरूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणाली (वीडीएस)का ७७ किमि पाइपलाइन बिच्छ्याउने कार्य समेत सम्पन्न भएको छ ।