काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गरेका छन् ।
उनले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहे पनि टिकाउने कुरामा भने कठिनाइ रहेको बताए । काठमाडौँ बाहिर भने जनशक्तिको पूर्ण रूपमा अभाव रहेको भन्दै उनले सङ्घीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको जानकारी दिए ।
मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले सिफारीस गरेको बिमा प्रणाली लागु गर्न सकेमा आम नागरिकले कम पैसामा गुणस्तरीय सेवा पाउन सक्ने बताए । उनले सात वटै प्रदेशमा सरकारले प्रत्यारोपण सेवा विस्तार गरिरहेको बताए । सरकारले सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गरेको उल्लेख गरे ।