काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्डमा कार्य गर्ने कर्मचारीहरूलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम बाँकेमा सम्पन्न गरेको छ । संस्थाले प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिमअन्तर्गत फिल्डमा कार्य गर्ने ८६ जना कर्मचारीहरूलाई दुई दिने प्रशिक्षण दिइएको हो ।
तालिमको समापन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरूको सुझाव तथा गुनासो सम्बोधन गर्नुहँुदै वर्तमान अवस्थामा फिल्डमा कर्मचारीको असीमित तनाव चरम उत्कर्षमा रहेको तथा सम्भावित जोखिमलाई सहज र दिगो ढंगले व्यवस्थापन गर्न यस तालिमले सहयोग पुग्ने विश्वास लिइएको बताए । सो तालिम अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर सौनक भट्ट, श्रवणकुमार सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल, संस्थाका तालिम विभाग प्रमुख उमेशमान डंगोलले सहजीकरण गरेका थिए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहालको पनि उपस्थिति रहेको थियो ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना कर्मचारीलाई दक्ष र कार्य सम्पादनमा सहयोग पुगोस् भनेर वैशाख महिनाभर विभिन्न स्थानमा तालिम दिइरहेको संस्थाले जनाएको छ ।