नेपालगन्ज । नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीहरूले भारत र पाकिस्तानबिच द्वन्द्व चर्किँदै गएपछि नेपालगन्ज सीमा नाकामा कडाइ बढाउँदै लगेका छन् । नेपालगन्ज नाकाबाट आवागमन गर्नेहरूका लागि नेपाल भारत जमुनाहा नाकामा सुरक्षा कडाइ बढाउँदै सशस्त्र प्रहरीले परिचय–पत्र अनिवार्य गरेको छ ।
नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशनबमोजिम सुरक्षा कडा पारिएको जनाउँदै सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी शोभाकान्त खनालले परिचय खुल्ने कागजात भएका भारतीयलाई मात्र नेपाल प्रवेश गर्न दिएको बताए ।
यसअघि रुपैडिहा नाकामा आवागमन गर्ने नेपाली र भारतीय सबै नागरिकहरूका लागि गत केही वर्षदेखि भारतीय सुरक्षा निकाय सीमा सशस्त्र बल (एसएसवी) ले परिचयपत्र अनिवार्य गरेको थियो । हाल आएर नेपालगन्ज नाकामा सशस्त्र प्रहरी बल नेपालले पनि परिचयपत्र हेर्न थालेको हो ।