काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम सञ्चालन गरेको छ । नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको हो । अटोमोबाइल वर्कसपहरूमा सुरक्षा, स्वास्थ्य र कल्याणसम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले सो तालिम आयोजना गरिएको नाडाले जनाएको छ । विभिन्न प्राविधिक पृष्ठभूमिका व्यक्तिहरू सहभागी भएको सो तालिम कार्यक्रममा जोखिम व्यवस्थापनलगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृतिहरूका सम्बन्धमा जानकारीहरू प्रदान गरिएको थियो ।
नाडाका १२ सदस्य कम्पनीहरूबाट २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको सो तालिम कार्यक्रममा नेपालका ओएसएच विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए । नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा यस किसिमको तालिम कार्यक्रम पहिलोपटक आयोजना गरेको हो । इन्स्योरसँगको सहकार्यमा नाडाले दुई वर्षअघिदेखि अटोमोबाइलसँग सम्बन्धित विभिन्न विषयहरूमा तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका तालिम कार्यक्रमहरू सञ्चालन गरेको हो ।
तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा इन्स्योर परियोजनाका डेपुटी टिम लिडर सञ्जीव कुमार राईले २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरेका थिए । सो समापन कार्यक्रममा नाडाका केन्द्रीय कार्यसमिति सदस्य प्रदीपमान प्रधान र इन्स्योर परियोजनाका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोकराज जोशी समेतको उपस्थिति रहेको थियो । सो तालिम कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका तालिम को–ओर्डिनेटर आरजु श्रेष्ठले गरेका थिए ।