वीरगञ्ज (पर्सा) । सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन वीरगञ्ज महानगरले अभियान थालेको छ । महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो ।
नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुई क्रेनको सहायताले महानगरले सोमबार वडा नं– २२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिए । महानगरले बसपार्क क्षेत्रमा सञ्चालनमा नआएको एक बस र एक ट्रक दुवै सवारीसाधनलाई डम्पिङ साइटमा पुर्याएको छ ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गरेर हटाउन आह्वान गर्दा पनि नहटाएपछि महानगर आफैँले हटाउने अभियान थालेको बताए । गत बुधबार पनि वीरगञ्ज बसपार्क क्षेत्रमा महानगरले दुई बेवारिसे बस हटाएको थियो ।
महानगरले सडक, फुटपाथ, चोक, उद्यान, बसपार्क र अन्य सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारीसाधन तथा संरचनाले नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेका कारण ती सवारीसाधन हटाउने कार्य अघि बढाएको हो ।
“सहर हामी सबैको साझा घर हो । नागरिकले नियम पालन गरेमा हामी वीरगञ्जलाई व्यवस्थित महानगरमा रूपान्तरण गर्न सक्छौँ”, प्रमुख सिंहले भने । वीरगञ्जलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक सहरका रुपमा रूपान्तरण गर्ने अभियान थालेको उनले बताए । महानगरले यात्रु, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँगको सहकार्यमा उक्त अभियान थालेको हो ।