काठमाडौं । नेपाल टेलिकमले लाङटाङ–क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालन ल्याएको छ । नेपालको प्रसिद्ध एवं सुन्दर पदयात्रा गन्तव्यको रूपमा परिचित रहेको लाङटाङ–क्यान्जिन पदमार्गमा सो क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन ल्याइएको टेलिकमले जनाएको छ ।
काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रूपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरूलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरूसँग साटासाट गर्न सहयोग पुग्नेछ । समुद्री सतहबाट करिब ३८ सय मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने र स्याफ्रुबेसीबाट लगभग दुई दिनको पैदलयात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरू तथा यस भेगका पर्यटनलगायत अन्य व्यवसायीहरू समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।