खोटाङ । जन्तेढुङ्गा गाउँपालिकालाई राष्ट्रिय खोप निर्देशिका अनुसार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि उक्त गाउँपालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाइजर निरीक्षक सुरेन्द्र बुढाथोकीले जन्मेदेखि १५ महिनासम्मका १५३ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ४८७ बालबालिकाले पूर्ण खोप लगाएको पाइएपछि जन्तेढुङ्गालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको जानकारी दिए ।
खोप अभियानका क्रममा १६ महिनाभन्दा माथिका एक बच्चाले सुरुमा खोपकार्ड लिएर नियमित खोप लगाए पनि बीचमा छुटाएको पाइएकाले ती बच्चालाई समेत पूर्ण खोप उपलब्ध गराइएको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा चालू आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने सो गाउँपालिका जिल्लाकै दोस्रो भएको छ ।
घोषणासभाको अवसरमा गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका प्रमुख अरुणादेवी राईलाई जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमका अवसरमा खोप अभियानमा खटिने स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।
नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । खोप कार्यक्रमबाट कोही बञ्चित नहुन भन्ने उद्देश्यले ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको हो ।