काठमाडौँ । पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, “राष्ट्र बैङ्कमा मेरो कोही ल्याउनु छैन । ‘मेरिटोक्रेसी’का आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्नसक्ने मान्छे भए देशलाई भइहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारमा म मात्र छैन । त्यसैले सकेसम्म ‘मेरिटोक्रेसी’लाई महत्व दिन्छु ।”
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिबाट प्राप्त प्रतिवेदनका आधारमा क्षमतावान् व्यक्ति नियुक्ति भएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे । उनले एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको स्पष्ट गरे ।
पूर्वयोजनाकारको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीले व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे ।