काठमाडौं । प्रहरीले सरकारी तथा बैंक वित्तिय संस्थाका कागजातहरू कीर्ते गरी नक्कली बनाउने कारखानामा छापा मारेको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ घर भएका २८ वर्षीय निर्मल खड्का, गोरखाको भीमसेनथापा गाउँपालिका–१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी र मकवानपुरको कैलाश गाउँपालिका–२ छयाङ्ढुङकी २३ वर्षीया अन्जु खत्री पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले तारकेश्वर नगरपालिका–७ फुटुङमा यो समूहले कार्यालयन नै खडा गरेर सरकारी कागजातहरू नक्कली बनाउने गरेको पाइएको बताए । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार छापा मारेर पक्राउ गरेको हो ।
यसका मुख्य योजनाकार बयलकोटीले विगत ८ वर्षदेखि यो धन्दा चलाएको प्रहरीको भनाइ छ । उनले मासिक १० हजारदेखि १५ हजार रुपैयाँ तलब दिएर फुटुङमा कोठा भाडा लिएर दुई जना सहयोगी समेत राखेर काम गरेको पाइएको प्रहरीले बताएको छ । प्रहरीले यो कारखानाबाट ठूलो संख्यामा नक्कली डकुमेन्ट पनि बरामद गरेको छ ।