काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको बैठकमा सोमबार कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा व्यक्त गरे ।
गृहमन्त्री लेखकले भने, “हिन्दू धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । त्यसैले, हिंसालाई धर्मसँग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधानविपरीत छ जसलाई कुनै पनि विषयमा उचित मान्न सकिँदैन ।”
उक्तघटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको भन्दै मन्त्री लेखकले उक्त घटनामा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको एक निजी घरमा जलेर निधन भएको र अर्का व्यक्ति सविन महर्जनको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली लागेर निधन भएको बताए ।
साथै, उक्त तोडफोड र आगजनीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको मन्त्री लेखकले बताए ।
तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान जारी रहेको बताउँदै उनले उक्त घटनामा गोली लागि घाइते भएका व्यक्तिमध्ये हाल तीन जना उपचाररत रहेका र बाँकी स्वास्थ्य लाभ गरी घर फर्किसकेका जानकारी दिए ।