काठमाडौं । फाइनान्स कम्पनीहरूमा १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा खराब देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो अर्थात् तेस्रो त्रैमासमा फाइनान्स कम्पनीहरूले एक खर्ब २७ अर्ब ६१ करोड ६० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब दुई अर्ब ६६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा १३ दशमलव शून्य पाँच प्रतिशतका दरले हुन आउने १३ खर्ब ३९ अर्ब ८३ करोड चार लाख ५० हजार रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको हो । खराब कर्जालाई उठ्न समस्या भएको जोखिमयुक्त कर्जाको रुपमा लिइन्छ ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा दुई दशमलव ६५ प्रतिशत अर्थात् तीन अर्ब २८ करोड ८४ लाख ६४ हजार पाँच सय रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब २३ अर्ब ३० करोड ५० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ९७ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा १० दशमलव ४० प्र्रतिशतका दरले हुन आउने २० अर्ब १० करोड ९८ लाख ४० हजार रुपैयाँबराबरको कर्जा खराब देखिएको थियो ।
फाइनान्स कम्पनीहरूले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार भने सबैभन्दा बढी निष्क्रिय कर्जा जानकी फाइनान्समा देखिएको छ भने सबैभन्दा कम आईसीएफसी फाइनान्समा देखिएको छ । यस अवधिमा जानकीमा ४४ दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय हुँदा आईसीएफसीमा दुई दशमलव शून्य पाँच प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी दुई संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः २८ दशमलव ९१ र तीन दशमलव ९१ प्रतिशत रहेको थियो ।
पोखरा, समृद्धि र रिलायन्स फाइनान्समा भने पछिल्लो अवधिमा क्रमशः ३१ दशमलव २५, १६ दशमलव ४२ र १६ दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः सात दशमलव ९१, १७ दशमलव २३ र आठ दशमलव ४८ प्रतिशत रहेको थियो । सेन्ट्रल, बेस्ट र नेपाल फाइनान्समा पनि पछिल्लो अवधिमा क्रमशः १२ दशमलव शून्य एक, ११ दशमलव ४९ र नौ दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः नौ दशमलव ५८, तीन दशमलव ८६ र नौ दशमलव २४ प्रतिशत रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमासमा गुडविल, प्रोग्रेसिभ र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीमा भने क्रमशः आठ दशमलव शून्य सात, सात दशमलव १५ र छ दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः छ दशमलव ४८, नौ दशमलव ३४ र पाँच दशमलव ७३ प्रतिशत कर्जा खराब देखिएको थियो । मल्टीपर्पस र गोर्खाज फाइनान्समा भने पछिल्लो अवधिमा क्रमशः पाँच दशमलव ३६ र चार दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः तीन दशमलव ४४ र तीन दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमासमा मञ्जुश्री र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीमा भने क्रमशः चार दशमलव २० र तीन दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने यी संस्थाहरूमा क्रमशः तीन दशमलव ९५ र दुई दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।