काठमाडौं । दुई थरी नागरिकता र नाम भएका एक शंकास्पद व्यक्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय परिषद्को उपाध्यक्ष चयन भएको पाइएको छ । हाल बेल्जियममा बसेर व्यवसाय गर्दै आएका धादिङको गंगाजमुना गाउँपालिका ७ बुढाथुम गलनेमा जन्मे हुर्केका लोकप्रसाद दाहालले दोहोरो नागरिकता र राहदानी लिएको पाइएको हो ।
उनले जिल्ला प्रशासन कार्यालय धादिङबाट मोहन दाहालको नाममा नागरिकता लिएका छन् भने जिल्ला प्रशासन कार्यालय गोरखाबाट लोकप्रसाद दाहालको नाममा अर्को नागरिकता लिएका छन् । सोही नागरिकताको आधारमा उनले राहदानी समेत लिएका छन् । दाहाल नेपालमा यात्रा गर्दा नेपाली राहदानी तथा नागरिकता प्रयोग गर्छन् । तर, विदेशमा भने बेल्जियममा बनेको राहदानीमा उल्लिखित लोकप्रसाद दाहालको नाममा यात्रा गर्छन् । यसअघि पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेले अमेरिकन राहदानी र नेपाली नागरिकताको दोहोरो प्रयोग गरेको अभियोगमा अनुसन्धान भएको थियो । तर, शक्तिको आडमा यो मुद्दा अहिले सरकारी वकिल कार्यालयमा तामेलीमा राखिएको छ ।
दाहालले पनि दोहोरो नागरिकता र राहदानी बनाएको देखिए पनि कारबाही भने कतैबाट भएको छैन । आफूलाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छोरा हुँ भन्दै हिँड्ने दाहालले शक्तिकै आडमा विभिन्न कम्पनीमा नक्कली नागरिकता र राहदानीमा उल्लिखित लोकप्रसाद दाहालकै नाममा सेयर लगत समेत लिएको भेटिएको छ ।
स्थानीयका अनुसार उनी धादिङको साबिक बुढाथुम गाविसमा जन्मिएर स्थानीय बद्रि विशाल माविमा अध्ययन गरेका व्यक्ति हुन् । बद्रि विशाल माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई यस विषयमा बुझ्दा मोहन दाहालको नाममा २ कक्षासम्म पढेको रेकर्ड भेटिएको छ ।
दाहालले जिल्लास्तरीय परीक्षा समेत नदिएका कारणको आधिकारिक कागजात विद्यालयमा छैन । यसअघि गैरआवासीय नेपाली संघको केन्द्रीय कोषाध्यक्ष रहेका दाहाल हालै बनेको भनिएको कथित एकता अधिवेशनबाट उपाध्यक्षमा चयन छन् । दाहाल अगिल्लो महाधिवेशनबाट पराजित भएपछि एनआरएनएबाट पाखा लागे पनि समानान्तर एनआरएनए गठन गरेर दुनियाँ हसाउँदै आएको समूहका एक सदस्यमध्येका एक हर्ताकर्ता मानिन्छन् ।
उनले सन् २००८ मै बेल्जियन नागरिकता प्राप्त गरेको गैरआवासीय नेपाली संघको रकर्डमा देखिन्छ । उनले गोरखाबाट नेपाली नागरिकता लिएको भेटिए पनि उनका बाबु ईश्वरीप्रसाद दाहाल र आमा टंककुमारी दाहालले भने धादिङबाटै नागरिकता लिएको देखिएको छ । किर्ते नागरिकता बनाएका उनले लोकप्रसाद दाहालको नाममा लिएको नागरिकता नम्बर भने ग.गो ३६२७ हो । तत्कालीन गण्डकी अञ्चल गोरखा जिल्लाको थुमी गाविस ५ ठेगाना देखाएर उनले नागरिकता लिएका हुन् । सो नागरिकतामा पनि उनले बाबुको नाम ईश्वरीप्रसाद दाहाल नै लेखेका छन् ।
२०५३ साल असोज १७ गते प्रथम प्रतिलिपी लिएको नागरिकतामा उल्लेख छ भने जारी मिति २०४१ माघ ५ गते उल्लेख छ । उनको नागरिकतबारे जिल्ला प्रशासन कार्यालय गोरखामा सम्पर्क गर्दा कुनै पनि तथ्य नभेटिएको जवाफ प्राप्त भएको छ । नागरिकता बनाउँदा बुझाइने अनुसूची फारम गायत तथ्य नभेटिएको र व्यक्तिगत गोपनीयताको विषय भएका कारण सबै विषय खुलाउन नमिल्ने जिल्ला प्रशासन कार्यालय गोरखाको भनाइ छ ।