जनकपुरधाम । नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेशको विभागीय मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न यहाँका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
खुल्ला सिमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिंदै गृहमन्त्री लेखकले प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले देशको बदलिँदो परिस्थितिअनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिए ।
उनले मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक भएको उल्लेख गरे । गृहमन्त्री लेखकले हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमलगायतका सामाजिक विकृतिका गम्भीर समस्या बढ्दै गएको हुँदा राष्ट्रसेवक कर्मचारीहरूलाई कानुनविपरीत आर्थिक लोभ र लाभमा नपरी इमान्दारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिए ।