काठमाडौं । बढ्दो गैर–बैंकिङ सम्पत्तिले विकास बैंकहरू थिचिएका छन् । कर्जा पनि नउठ्ने र धितो लिलामी गर्दा तत्काल बिक्ने अवस्था पनि नभएपछि विकास बैंकहरूको गैर–बैंकिङ सम्पत्ति बढ्दै गएको छ । यसले गर्दा अहिले विकास बैंकहरूमा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन जटिल बन्दै गएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव)को पछिल्लो नौ महिना अर्थात् चैत मसान्तसम्म सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमा गैर–बैंकिङ सम्पत्ति बढेर तीन अर्ब ७२ करोड ५० लाख रुपैयाँ पुगेको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा एक अर्ब १८ करोड ३० लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूको गैर–बैंकिङ सम्पत्ति दुई अर्ब ५४ करोड २० लाख रुपैयाँ थियो ।
गत चैत मसान्तसम्म महालक्ष्मी विकास बैंकमा ६१ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति ५३ करोड ९६ लाख ९० हजार रुपैयाँ थियो । गत आवको तेस्रो त्रैमासमा शून्य रहेको नारायणी डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा तीन करोड ६१ लाख ३० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकमा पनि गत आवको सोही अवधिमा शून्य रहेको गैर–बैंकिङ सम्पत्ति पछिल्लो अवधिमा छ करोड ११ लाख ३० हजार रुपैयाँ पुगेको छ । सांग्रिला डेभलपमेन्ट बैंकमा पनि चालु आवको तेस्रो त्रैमासमा गैर–बैंकिङ सम्पत्ति बढेर ४१ करोड ७२ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति २९ करोड ३१ लाख ६० हजार रुपैयाँ थियो । एक्सेल र मितेरी डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा गैर–बैंकिङ सम्पत्ति बढेर क्रमशः १८ करोड ९१ लाख ८० हजार र एक करोड ५४ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यी दुई बैंकहरूमा यस्तो सम्पत्ति क्रमशः १५ करोड ७४ लाख ७० हजार र दुई करोड १६ लाख १० हजार रुपैयाँ थियो ।
मुक्तिनाथ विकास बैंकमा पनि गत चैत मसान्तसम्म समय गैर–बैंकिङ सम्पत्ति बढेर ४० करोड ६६ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही उक्त बैंकको यस्तो सम्पत्ति २८ करोड ५२ लाख १० हजार रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार गरिमा कामना सेवा र कर्पोरेट डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा गैर–बैंकिङ सम्पत्ति बढेर क्रमशः ३४ करोड ८० लाख पाँच हजार, २९ करोड ८४ लाख र ११ करोड ९३ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो सम्पत्ति क्रमशः २२ करोड ७५ लाख २० हजार, ३२ करोड ९६ लाख ९० हजार र १३ करोड ३१ लाख रुपैयाँ थियो । ज्योति, साइन रेसुंगा र लुम्बिनी विकास बैंकमा पनि पछिल्लो अवधिमा गैर–बैंकिङ सम्पत्ति बढेर क्रमशः ६३ करोड ५७ लाख ९० हजार, १५ करोड, १९ लाख ९० हजार र ११ करोड ८६ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो सम्पत्ति क्रमशः १६ करोड सात लाख ८० हजार, सात करोड ९१ लाख ५० हजार र २५ करोड ३५ लाख ९० हजार रुपैयाँ थियो ।
सिन्धु र साल्पा विकास बैंकमा पनि पछिल्लो अवधिमा क्रमश पाँच करोड ३० लाख तीन हजार र २२ लाख २० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा सिन्धुमा पाँच करोड ३० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति थियो भने साल्पामा यस्तो सम्पत्ति शून्य थियो । सप्तकोशी र ग्रिन डेभलपमेन्ट बैंकमा पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः १५ करोड ६५ लाख १० हजार र एक करोड ८१ लाख ४० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो सम्पत्ति क्रमशः २४ लाख ९० हजार र ५१ लाख ४० हजार रुपैयाँ बराबरको थियो ।