काठमाडौं । सत्ता साझेदार नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निचोड निकालेको छ । सोमबार काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले भिजिट भिसामार्फत् नेपाली नागरिकलाई विदेश पठाउने प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले गृहमन्त्रीको राजीनामामा प्रवेश नगरेको बताए । ‘छानबिनको दायरामा गृहमन्त्री हुनुहुन्न, उहाँमाथि उजुरी छैन । उहाँ दोषी भन्न मिल्दैन’ जो संलग्न छन् तिनीहरूमाथि कारबाही हुनुुपर्छ,’ उनले भने, ‘सार्वजनिकरूपमा मिडियामा, सामाजिक सञ्जालमा जे आएको छ सो सम्बन्धमा गृहमन्त्रीले आफ्नो भनाइ राख्नुभयो । मन्त्री लेखकलाई जबरजस्त जोडेर अफवाह फैलाइएको मात्र हो । जहाँसम्म उहाँको कुरा उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त भयौँ ।’
बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुनपर्ने निष्कर्ष समेत निकालेको छ । गृहमन्त्रीमाथिको आरोप मिथ्या हो । मिथ्या आरोपको आधारमा लेखकले पदबाट राजीनामा दिनुनपर्ने कांग्रेस पदाधिकारीहरूको भनाइ छ ।
प्रवक्ता महतले भिजिट भिसाको विषयमा मन्त्री लेखकले संसद्मा आफ्नो कुरा राख्ने बताए । ‘भिजिट भिसाको विषयमा संसद्भित्र र संसद्बाहिर आफूमाथि लागेको विषयमा स्पष्ट पार्न हामीले निर्देशन दिएका छौँ, उहाँले सोहीअनुरूप अघि बढ्नुहुन्छ’, उनले भने । कांग्रेस बैठकले यो प्रकरणमार्फत् काँग्रेसलाई राजनीतिकरूपमा बदनाम गर्नको लागि गरिएको प्रचारको रूपमा बुझेको समेत बताइएको छ ।
बैठकमा गृहमन्त्री लेखकले अध्यायगमन कर्मचारीले बदमासी गरेको थाहा पाएपछि सरुवा गरेको बताएका छन् । ‘अध्यागमन कर्मचारीले बदमासी गरेको भन्दै पत्र आयो त्यसपछि कर्मचारी सरुवा गरेको हुँ । यो विषयमा मेरो कुनै संलग्नता छैन । ममाथि राजनीतिक आक्रमण भयो । मेरो चरित्रहत्या गर्न खोजिएको हो,’ उनले बैठकमा भने, ‘पार्टीले राजीनामा दिनु भनेमा म अगाडि बढ्न तयार छु ।’ बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाएका व्यक्तिबाट रकम असुलीको आरोप लागेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो ।
माओवादीले गृहमन्त्रीको राजीनामा माग्यो
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएको छ । सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपश्चात् उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले शक्ति प्रयोग गरेर छानबिन अवरुद्ध हुन सक्ने भएकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।
उनले बैठकले गृहमन्त्रीले छानबिन गरेर सहयोग गर्नुपर्ने निर्णय गरेको बताए । ‘आज बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने निर्णय गरेको छ,’ सापकोटाले भने, ‘जुन छानबिन राज्यको निकायले सुरु गरिसकेको छ यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ पहुँच, प्रभाव र शक्तिको प्रयोग नहोस् भन्ने हाम्रो मनसाय हो ।’
स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष छ । गत बुधबार अध्यागमनका कर्मचारी सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए । यसमा गृहमन्त्रीको सचिवालयको समेत संलग्नता रहेको खुलेको छ । गृहमन्त्रीको सचिवालयमा रहेका जनक भट्टदेखि गणेश ओझाको नाम मुछिएको छ । यस्तै, यसअघि नै भिजिट भिसाको आवरणमा मानवतस्करीमा जोडिएका अध्यागमन अधिकृत विमल पौडेल पनि लेखककै सचिवालयमा रहेका छन् ।