काठमाडौं । चितवनका अटोमोबाइल्स व्यवसायीहरूले आन्तरिक पर्यटन प्रवद्र्धनको लक्ष्यसहित बाइक राइड गर्ने भएका छन् । चैत १४ देखि १७ सम्म चार दिनका लागि उनीहरूले राइडको आयोजना गरेका हुन् ।
कार्यक्रम चितवनको भरतपुरबाट यात्रा सुरु हुनेछ । रूकुमपूर्वको एक हजार वर्ष पुरानो टकसेरा गाउँलाई मुख्य गन्तव्य मानी ‘एक्स्प्लोरिङ रुकुम’ टाइटलका साथ यात्रा आयोजना गरिएको कार्यक्रम संयोजक अमृत जोशीले जानकारी दिए । यात्रा नारायणगढदेखि पोखरा, बाग्लुुङ हुँदै मध्यपहाडको आर्थिक मेरूदण्ड मानिएको मध्यपहाडी लोक मार्गलाई पछ्याउँदै घोडाबाने, गलकोट दरबार, बुर्तीवाङ बजार, पातिहाल्ने भन्ज्याङ, चौरीखर्क, महत गाउँ, रूकुमकोट, टकसेरा पुग्नेछ । वामीटक्सार, पवित्र स्थल रिडी, प्रेमको प्रतीक रानीमहल, अवलोकन गरी चीनको कोरला नाका जोड्ने महत्वाकांक्षी सडक कालीगण्डकी कोरिडोरको पाल्पा रामपुर हुँदै नारायणगढमा आई यात्रा समापन हुनेछ ।
कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाको साथ रहेको जोशीले जानकारी दिए । यात्राको संस्थागत सहयोगीमा लायन्स क्लब अफ चितवन अटोमोबाइल्स छ ।