काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अरूजस्तो प्यारप्यार धेरै बोल्दैनन् तर जे बोल्छन् अलि गहकिलो पाराले बोल्छन् । पछिल्लो समय उनले प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा सहभागी भएर भाषण गर्दै भनेका थिए, ‘नेपाली काँग्रेसमा निष्ठावान र नैतिकवान कार्यकर्ताको कमी हुँदै गएको छ ।’ उनले त्यस्तो भाषण गर्दा आफ्ना वरिपरि कस्ता मान्छे घेरिएर बसेका छन् भन्ने पनि सम्झिएनन्, तर जे लागेको छ निर्भीकतापूर्वक त्यही बोलिदिए ।
बीपी कोइरालाले नेपालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि पार्टीमा सुकिलामुकिला हावी हुने छन् र सच्चा प्रजातन्त्रवादी कार्यकर्ताले तिनकाविरुद्ध फेरि एकपटक संघर्ष गर्नुपर्नेछ भनेका थिए । अहिले काँग्रेसमा त्यही अवस्था आएको छ । काँग्रेसको अहिलेका उरन्ठेउला जमातले वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, मंगलादेवी सिंह, महेन्द्र नारायण निधिको फोटो देख्दा यी बुढाबुढीहरू पनि काँग्रेस हुन् र ? भनेर प्रश्न गर्ने अबस्था आउन थालेको छ ।
काँग्रेससँग कुनै साइनो नभएका, कुनै प्रजातान्त्रिक आन्दोलन नदेखेका प्रजातान्त्रिक आन्दोलनमा कुनै भूमिका नभएका र यहाँसम्म कि अश्लील फिल्मका क्यासेट बेचेर गुजारा चलाउने हैसियतका मान्छे पनि अहिले काँग्रेसमा हाबी भएका छन् । निष्ठावान र नैतिकवान कार्यकर्ताको काँग्रेसमा बिस्तारै खडेरी पर्दै गएको छ । एउटाले सोध्यो तिमी के हो ? अर्कोले जवाफ फर्काउँछ, काँग्रेस हो । फेरि सोध्छ काँग्रेस के हो ? उसले जवाफ दिन्छ, के हो के हो तर काँग्रेस हो ।
अहिलेको अवस्था यही हो बाउलाई थुन्ने अञ्चलाधीशको छोरो र थुनिनेको छोरो एउटै ठाउँमा बस्नुपरेको छ । दाइ मार्ने माओवादी र सहिदको भाइ एउटै कमिटीमा बस्नुपरेको छ । को काँग्रेस हो, को होइन कसैलाई केही मतलब छैन । सगरमाथा संवादपछि परराष्ट्रमन्त्री आरजु राणाले एकठाउँमा बोलिन्, ‘आफूलाई फाइदा नै नहुने भए त्यस्तै काम किन गर्ने ?’ उनको यो जवाफले अहिले सबैलाई मुखबुझो लगाइदिएको छ ।
अहिले सबै फाइदाका लागि मात्र दोडिएका छन्, सेवा त देखाउने दाँत मात्र हो । काँग्रेसीहरूबीच अहिले नैतिकता अरूलाई पढाउने पाठ हो, आफ्ना लागि होइन भने निष्ठाको कुरा लाक्षी र हुतिहाराहरूको अरण्य रोदन बन्न पुगेको छ । देउवा काँग्रेसको नेतृत्वमा रहेका छन् र सबै गतिविधि उनकै वरिपरि छन् । राम्रा नराम्रा गर्न मिल्ने र नमिल्ने सबै काम उनकै आँखा सामुन्ने छन् । २०७४ को चुनावमा देउवा दम्पती नै सुदूरपश्चिमबाट चुनाव लडेका थिए, देउवा पत्नी पराजित भइन् । त्यतिबेला पनि देउवाले मुख खोलेका थिए, लोग्नेस्वास्नी सबैलाई भोट दिन्छ जनताले भनेर भनेका थिए । केही समयअघि पार्टीभित्र रडाको मच्चिँदै गएपछि विराटनगर पुगेका देउवाले धेरै बोल्नेले आफैँलाई सिध्याउँछ, कम बोल्नेले अरूलाई सिध्याउँछ भनेर बोलेका थिए ।
पछिल्लोपटक प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा निष्ठा र नैतिकताको कुरा उठाउँदा समाजका अध्यक्ष डा केदार नरसिंह केसी मञ्चमै विराजमान थिए । न देउवाले केसीलाई तोकेर केही भने नत केसीले नै त्यसबारेमा केही बोले । घुसलिने सन्दर्भमा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा उनीमाथि प्राडो पजेरो र सांसद खरिदबिक्री काण्डको आरोप यस्तै घतलाग्दो कुरा बोलेका थिए, ‘आफ्नो मनको इच्छा पूरा होस् भनेर दक्षिणकालीलाई त कालो बोको चढाउनुपर्छ भनेर अहिले प्रजातन्त्र पुनस्थापना गर्नु छैन ।
आन्दोलन गर्नुपर्दैन, मसाल जुलुस निकाल्न पर्दैन, पार्टीका नेताहरू मन्त्री छन् । सबै नेताका निवास धाउने यताका कुरा उता पुर्याउने दुई चार पैसा लिने, अरूको कामका कुरा बोकेर जाने, विचौलियाको काम गर्ने अहिलेका कार्यकर्ताका काम यिनै हुन् । तरुण दलको श्रीमतीले रसुवामा कोसँग साझेदारी गरेर के काम गरेको छ, कसलाई के मतलब ? सक्नेले गर्ने न हो । अहिलेको मान्यता यही हो । अहिलेका अल्लरे नेताले लगेको काम स्वास्थ्य मन्त्रालयमा रोकिँदैन फटाफट हुन्छ । पुरानो काँग्रेसले ग¥यो भने सबै बिग्रिन्छ । त्यही अवस्था पर्यटन मन्त्रालयमा छ ।
गृह मन्त्रालयमा के भएको छ सबैले देखेकै छ । पार्टीले मन्त्रीहरूलाई सातामा दुई दिन जनतासँग अन्तरक्रिया गर्नु भनेर दिएको निर्देशन कहाँ अवज्ञा भएको छ र ? मन्त्रीहरूले सधैँ घेरिएर बस्ने जमात पनि जनता नै हुन नि भनेर चित्त बुझाउन सक्नुपर्छ । अहिले काँग्रेसमा नैतिकवान र निष्ठावान नेता कार्यकर्ता खोज्नु स्यालको सिङ खोज्नुजस्तै हो । तर पनि यस्तो बेला समेत सभापति देउवाले त्यसमा मुख खोले, त्यो नै ठूलो कुरा हो । यो चित्त बुझाउने एउटा उपाय पनि हो ।