काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको निर्यातलाई सहजीकरण गरिदिन चीनसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा नेतृत्वको प्रतिनिधिमण्डलले गरेको भेटवार्तामा मन्त्री अधिकारीले निर्यात सहजीकरणको लागि आग्रह गरेका हुन् । नेपाल र चीनबीच कृषि क्षेत्रमा सहयोग र सहकार्य हुँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा कृषि क्षेत्रमा चीनको सहयोग थप अभिवृद्धि हुने अपेक्षा राखेको बताए । नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने वस्तुहरूमध्ये चिया, नेपाली जडीबुटी एवं राँगोको मासुलाई चीनको भन्सार प्रवेशका लागि प्रक्रिया अघि बढेकोमा उनले चीन सरकारलाई धन्यवाद दिए ।
यस्तै, उनले जडीबुटी निर्यातका लागि पनि हाल पाँच वटा कम्पनी यस प्रक्रियामा दर्ता भएकाले थप सहजीकरणमा सहयोग गर्न आग्रह गरे । सन् २०१९ मा नेपाल चीनबीच हस्ताक्षर भएको सुन्तला जातका फलफूल निर्यातसम्बन्धी सम्झौता र २०२२ मा भएको घाँस निर्यातसम्बन्धी सम्झौताको कार्यन्वयनका लागि आधारभूत आवश्यकता तयार गर्न प्राविधिक सहयोगका लागि पनि मन्त्री अधिकारीले चिनियाँ प्रतिनिधिमण्डलसँग आग्रह गरे ।
भेटवार्तामा उपाध्यक्ष वाले नेपालको चिया, जडीबुटी आदिको माग चीनभरि रहेको उल्लेख गर्दै नेपालवाट यसको निर्यातका लागि आफूले सहजीकरण गर्ने बताए । सुन्ताला जातका फलफूल निर्यात गर्नका लागि उपयुक्त भण्डारण स्थल आवश्यक पर्ने र यसका लागि सहयोग गर्न तयार रहेको पनि उनले बताए । नेपाली व्यवसायीहरूलाई सिजाङमा हुने व्यापारिक प्रदर्शनीमा भाग लिन आग्रह गर्दै उपाध्यक्ष वाले यसमार्फत नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म पु¥याउन सहज हुने उल्लेख गरे ।