काठमाडौं । बैंकिङ क्षेत्रमा मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । जसले गर्दा शाखारहित सेवा केन्द्रबाट सेवा लिने ग्राहकहरूको संख्या घट्दै गएको छ । पछिल्लो समय डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, पेमेन्ट गेटवे कम्पनीहरूमार्फत हुने कारोबार बढ्दै जाँदा यसको असार शाखारहित सेवा केन्द्रमा परेको हो ।
डिजिटल बैंकिङको तुलनामा शाखारहित सेवा प्रक्रियागतरूपमा झन्झटिलो र विभिन्न कारणले जोखिमयुक्त समेत भएका कारण पनि यस्तो सेवाप्रति ग्राहकहरूमा कम आर्कषण देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रको संख्या घटेर नौ सय ७४ वटामा खुम्चिएको छ । जसमध्ये वाणिज्य बैंकका नौ सय ५७ र फाइनान्स कम्पनीका १७ वटा शाखारहित सेवा केन्द्रहरू सञ्चालनमा रहेका छन् । विकास बैंकहरूमा भने हालसम्म कुनै पनि किसिमको शाखारहित सेवा केन्द्र सञ्चालन भएको छैन । गत आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा भने वाणिज्य बैंकहरूमा एक हजार एक सय ७८ र फाइनान्स कम्पनीहरूका १७ वटा समेत गरी कुल एक हजार एक सय ९५ वटा शाखारहित सेवा केन्द्रहरू सञ्चालनमा रहेका थिए ।
शाखारहित सेवा केन्द्रको संख्या घट्दा यसका सेवाग्राहीको संख्या पनि पछिल्लो समय घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूमा दुई लाख ८८ हजार एक सय ६६ र फाइनान्स कम्पनीहरूमा एक हजार एक सय ९५ समेत गरी कुल दुई लाख ८९ हजार तीन सय ६१ जना शाखारहित सेवाग्राहीको संख्या रहेको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकतर्फ तीन लाख ११ हजार छ सय ५२ र फाइनान्सतर्फ एक हजार पाँच सय ८६ गरी कुल तीन लाख १३ हजार दुई सय ३८ जना शाखारहित सेवाग्राहीहरू रहेका थिए ।
विगतमा बैंकहरूले वित्तीय पहुँच विस्तारका लागि भन्दै शाखारहित सेवा केन्द्र खोलेको भए पनि अहिले सबै क्षेत्रमा इन्टरनेटको पहुँच पुगेसँगै मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ता संख्या बढ्दा शाखारहित सेवाग्राहीको संख्या घटेको हो ।
राष्ट्र बैंकका अनुसार नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ७० लाख नाघेको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको कुल संख्या दुई करोड ७० लाख १२ हजार दुई पुगेको हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङ प्रयोगकर्ताको कुल संख्या दुई करोड ४० लाख ५३ हजार छ सय २९ रहेको थियो ।
पछिल्लो अवधिमा वाणिज्य बैंकहरूमा मात्र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ३१ लाख ५० हजार एक सय ७७ रहेको छ । यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरूमा यस्तो संख्या क्रमशः ३५ लाख ७८ हजार ६१ र दुई लाख ८३ हजार सात सय ६४ रहेको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या क्रमशः दुई करोड छ लाख ६३ हजार चार सय ६१, ३२ लाख तीन हजार आठ सय आठ र एक लाख ८६ हजार तीन सय ६० थियो ।
चालु आवको चैत मसान्तसम्म नेपालमा इन्टरनेट बैंकिङ ग्राहकको कुल संख्या २१ लाख ७३ हजार सात सय ४६ छ । जसमध्ये वाणिज्य बैंकमा १५ लाख ६३ हजार आठ सय ७०, विकास बैंकहरूमा पाँच लाख ९२ हजार ७० र फाइनान्स कम्पनीहरूमा १७ हजार आठ सय छ रहेको छ । गत आवको सोही अवधिमा भने यस्तो ग्राहक संख्या १९ लाख चार हजार सात सय ७३ थियो । जसमध्ये वाणिज्य बैंकहरूमा १३ लाख ३४ हजार छ सय ९२, विकास बैंकहरूमा पाँच लाख ५५ हजार ३७ र फाइनान्स कम्पनीहरूमा १५ हजार ५४ थियो ।