पेरिस । आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी)ले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार सन् २०२४ मा अनुमान गरिएको तीन दशमलव तीन प्रतिशतको विश्व आर्थिक वृद्धि दर आगामी वर्षहरूमा घट्दै सन् २०२५/२०२६ मा दुई दशमलव नौ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार, सन् २०२५ मे महिनासम्म कायम रहेका भन्सार शुल्कका दरहरू यथावत् रहने प्राविधिक मान्यताको आधारमा यस पटकको प्रक्षेपण गरिएको हो, यद्यपि केही कानुनी विवादहरू अझै जारी छन् ।
ओईसीडीले यदि हाल देखिएका प्रवृत्तिहरूमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएको असहजता, कर्जा तथा लगानीको पहुँचमा कडाइ, उद्योग तथा उपभोक्ताको भरोसा कमजोर हुँदै जानु र नीतिगत अनिश्चितता–निरन्तरता पाएमा विश्वको आर्थिक सम्भावनामा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ ।
बढ्दो व्यापार अवरोध, कडा वित्तीय अवस्था, कमजोर व्यापार र उपभोक्ता विश्वास र बढ्दो नीतिगत अनिश्चितताजस्ता प्रवृत्ति बढ्दै गएमा आर्थिक वृद्धिमा उच्च गिरावट आउने उल्लेख गरेको छ ।
ओईसीडीले अमेरिकी आर्थिक वृद्धि सन् २०२५मा एक दशमलव छ प्रतिशत र २०२६ मा एक दशमलव पाँच प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । उपभोक्ता र व्यावसायिक भावनाको सर्वेक्षण र मुद्रास्फीति अपेक्षा जस्ता हालैका सफ्ट डेटा सूचकहरुले अमेरिकामा वास्तविक जीडीपी वृद्धिमा उल्लेखनीय कमी आएको संकेत देखिएको ओईसीडीले उल्लेख गरेको छ ।