काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले टेक एन्ड पे नीतिमा विद्युत् खरिद सम्झौता गर्दा लगानी जोखिममा पर्ने भन्दै असन्तुष्टि जनाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता गर्दा जलविद्युत् आयोजनाको ६६ अर्ब २२ करोड रुपैयाँ लगानी जोखिममा पर्ने दाबी गरेका हुन् ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा बिजुली खरिदमा ‘टेक एन्ड पे’ नीति उल्लेख छ । अध्यक्ष कार्कीले सरकारको उक्त नीतिले निजी लगानीकर्तालाई समस्या पार्ने उल्लेख गर्दै नीति सच्याउन माग गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा रन अफ दि रिभर (आरओआर) आयोजनाको हकमा टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणा गरेको थियो ।
अध्यक्ष कार्कीले भने, ‘पहिले निजी क्षेत्रलाई लगानी गर्न उत्साहित गर्दै ऊर्जा क्षेत्रमा लगानी गर भन्ने र तर अहिले आएर उत्पादन गरिएको विद्युत् खरिद गर्दैनौँ भन्ने काम सरकारबाट भएको छ’, उनले भने, ‘उक्त नीतिले निजी क्षेत्र अप्ठ्यारोमा परेको छ, उक्त नीतिले निजी क्षेत्रलाई जलविद्युत् क्षेत्रबाट पन्छ्याउन खोजेको छ ।’