काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सफलतापूर्वक सम्पन्न गरेको हो । सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए । त्यसपछि सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्यसहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभाबाट विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् । सञ्चालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित सेयरधनीहरूले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मतरूपमा पारित गरिएको छ । त्यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, आव २०८०÷०८१ को नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफलपश्चात् सर्वसम्मतरूपमा पारित गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि बाह्य लेखापरीक्षकको रूपमा जेएन उपाध्याय एन्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ । त्यस्तै, सभाले समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालकमा श्री ईश्वरलाल श्रेष्ठ र श्रीमती सुनिता महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाको समापनमा संस्थाका अध्यक्ष ऋषिराज मोरले नव निर्वाचित सञ्चालकहरूलाई बधाईज्ञापन गर्दै उपस्थित सम्पूर्ण सेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गरे । उनले कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीतिहरू र संस्थागत सुशासनमा प्रतिबद्धता दोहो¥याउँदै सभा बिसर्जनको घोषणा गरेका थिए ।