काठमाडौ । दिगो ग्रुपले पश्चिम नेपालमा आफ्नो उपस्थिति सुदृढ बनाउने उद्देश्यले धनगढीमा ख्वाजा ट्रेडर्सलाई आधिकारिक विक्रेता नियुक्त गरेको छ । नयाँ सोरुमको उद्घाटनसँगै दिगोले सुदूरपश्चिम क्षेत्रका ग्राहकहरूलाई हरित तथा नवीनतम विद्युतीय सवारी साधनहरू सहजरूपमा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । ख्वाजा ट्रेडर्सद्वारा सञ्चालित उक्त सोरुममा दिगोले नेपालभर बिक्री वितरण गर्दै आएको डीएफएसके ब्रान्डअन्तर्गतका विद्युतीय सवारी साधनहरू प्रदर्शन तथा बिक्री गरिनेछ । यसमा डीएफएसक डाँफे भ्यानको ११ सिट क्षमताको विद्युतीय मोडेलका साथै १४, १६ र १९ सिट क्षमताका माइक्रो बसहरू उपलब्ध हुनेछन्, जुन सामूहिक यातायातलाई दिगो, सुलभ र किफायती बनाउनेतर्फ महत्वपूर्ण कदम हुनेछ ।
दिगोका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले दिगोले देशभर विद्युतीय सवारी साधनको सहज पहुँच पुर्याउने लक्ष्य राखेको बताए । यो नयाँ सोरुम त्यही अभियानको एउटा महत्वपूर्ण अध्याय भएको उनको भनाइ थियो । ख्वाजा ट्रेडर्सका सञ्चालक गुलाम रसुल अन्सारीले धनगढीका लागि यो अवसर विशेष रहेको बताए । ‘हामी धनगढी र आसपासका क्षेत्रलाई विद्युतीय यातायाततर्फ उन्मुख गराउने दिशामा अघि बढ्दैछौँ,’ उनले भने । दिगोको यो कदमसँगै सुदूरपश्चिम क्षेत्रका व्यवसायी, शैक्षिक संस्था, पर्यटन क्षेत्र र सार्वजनिक यातायात क्षेत्रका लागि विद्युतीय सवारी साधनहरूमा लगानी गर्ने वातावरण झनै सहज हुने कम्पनीले जनाएको छ ।