काठमाडौं । देशको अर्थतन्त्रका सबैजसो सूचकहरू सकारात्मक देखिएका छन् । उद्योगी/व्यवसायी, अर्थशास्त्री, सरोकारवाला सबैले देशमा आर्थिक गतिविधि बढ्न नसकेको गुनासो गरिरहेका बेला केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कले भने अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक देखाएको हो ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्कअनुसार अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक छन् । महँगी नियन्त्रणमा छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, शोधनान्तर खाता र चालु खाता बचतमा छन् र रेमिट्यान्स पनि पर्याप्त भित्रिएको छ । जसले अर्थतन्त्रलाई ठिक रहेको देखाएको हो ।
महँगी नियन्त्रणमा
नेपाल राष्ट्र बैंकले महँगी वृद्धिदर घट्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । २०८२ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत देखिएको छ । जुन एक वर्षअघिको तुलनामा घटेको हो । २०८१ वैशाख मसान्तमा यस्तो मुद्रास्फीति चार दशमलव ४० प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४५ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव शून्य आठ, फलफूलको छ दशमलव १५, दाल तथा गेडागुडीको पाँच दशमलव १७ र गैर–मदिराजन्य पेय पदार्थको चार दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क आठ दशमलव ११, मरमसलाको दुई दशमलव २० र माछा तथा मासुको शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क नौ दशमलव शून्य चार, शिक्षाको पाँच दशमलव ८८, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको तीन दशमलव ९९ प्रतिशत र रेस्टुरेन्ट तथा आवास सेवाको तीन दशमलव १६ प्रतिशतले बढेको छ ।
प्रतिवेदनअनुसार गत वैशाख महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव २१ र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ६१ प्रतिशतले बढेको छ । प्रदेशगतरूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी चार दशमलव २९ प्रतिशत देखिएको छ । मधेश प्रदेशको दुई दशमलव ८१, बागमतीको दुई दशमलव ४०, गण्डकीको दुई दशमलव २३, लुम्बिनीको दुई दशमलव १५, कर्णालीको दुई दशमव २१ र सुदूरपश्चिमको तीन दशमलव १४ प्रतिशत छ ।
त्यसैगरी काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ६४, तराईको दुई दशमलव ६४, पहाडको दुई दशमलव ६५ र हिमालको चार दशमलव शून्य प्रतिशत छ ।
शोधनान्तर खाता बचतमा
मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति बचतमा छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१÷८२ को १० महिनामा शोधनान्तर खाता चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब २३ करोडले बचतमा छ ।
चालु खाता पनि बचतमा
२०८२ वैशाख मसान्तमा चालू खाता दुई खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा चालू खाता एक अर्ब ८९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४५ करोडले बचतमा थियो । यस्तै, खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पाँच अर्ब २६ करोड थियो ।
रेमिट्यान्स १३ खर्ब ६५ अर्ब भित्रियो
वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स आप्रवाह बढेको छ । यस आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्म १३ खर्ब ६५ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोे छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव दुई प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो १० महिनामा रेमिट्यान्स ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ बराबर भित्रिएको थियो । २०८२ वैशाख महिनामा मात्रै एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह साढे १० प्रतिशतले बढेर नौ अर्ब ९६ करोड पुगेको छ । गत आर्थिक वर्षको पहिलो १० महिनामा रेमिट्यान्स अमेरिकी डलरमा नौ अर्ब दुई करोड भित्रिएको थियो ।
२५ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति
विदेशी मु्द्राको सञ्चिति पनि बढेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति २०८२ वैशाख मसान्तसम्मम २३ दशमलव १० प्रतिशत बढेर २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ ।
अमेरिकी डलरमा २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा साढे २० प्रतिशत बढेर १८ अर्ब ४० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ वैशाख मसान्तमा १९ दशमलव छ प्रतिशतले बढेर २२ खर्ब ११ अर्ब ११ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा ५६ दशमलव आठ प्रतिशतले बढेर तीन खर्ब एक अर्ब ८३ करोड कायम भएको छ । २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव दुई प्रतिशत छ ।
राष्ट्र बैंकले १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ महिना १२ दिनको वस्तु आयात र १४ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
सेवा आय ८६ अर्ब बढी घाटामा
नेपाल आउने विदेशीले गर्ने खर्चभन्दा बाहिर घुम्न र पढ्न जाने नेपालीले गर्ने खर्च धेरै देखिएको छ । यी दुवै शीर्षकको आम्दानी र खर्चलाई सेवा आयमा गणना गरिन्छ । २०८२ वैशाख मसान्तसम्म खुद सेवा आय ८६ अर्ब ५३ करोड रुपैयाँ घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ३१ करोड रुपैयाँले घाटामा थियो ।
सेवा खाताअन्तर्गत नेपाल घुम्न आउने पर्यटकबाट हुने आय आठ दशमलव छ प्रतिशतले बढेर ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६९ अर्ब ७३ करोड रुपैयाँ थियो ।
यस्तै, नेपालबाट विदेश घुम्न र पढ्न जाने नेपालीले गर्ने खर्च १७ दशमलव नौ प्रतिशत बढेर एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब ५६ अर्ब ९५ करोड रहेकोमा शिक्षातर्फको व्यय एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ थियो । यस आर्थिक वर्षको १० महिनामा विदेश घुम्न जाने नेपालीले ७२ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेका छन् ।