काठमाडौँ । राजर्षि जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण एक सय १४ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री केपी ओलीले जनकपुरधाममा आयोजित प्रथम दीक्षान्त समारोहमा सो विश्वविद्यालयबाट गत तीन वर्षदेखि उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा उत्कृष्ट हुने चार जना र विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १० जना विद्यार्थीहरूलाई पदक समेत प्रदान गरेका थिए । यसैगरी सोही समारोहमा वरिष्ठ साहित्यकार प्रा डा राजेन्द्र विमलले उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ‘मेडल’ प्रदान गरेका थिए । समारोहमा प्रा डा विमलले आफूले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमानदारीपूर्वक लगाउन विद्यार्थीहरूलाई आग्रह गरे ।
विश्वविद्यालयका उपकुलपति डा अमरप्रसाद यादवले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दैै गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध विश्वविद्यालयलाई आवश्यक सहयोगका लागि आग्रह गरे । यसैगगरी रजिस्ट्रार सत्यनारायण साहले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको राजर्षि जनक विश्वविद्यालय मधेशवासीका लागि गौरवको विषय भएको बताए । विश्वविद्यालयमा हाल मानविकी र कानुन, विज्ञान प्रविधि तथा इञ्जिनियरिङ, स्वास्थ्य र व्यवस्थापन गरी चार संकायअन्तर्गत १३ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । देशको पाँचवटा प्रदेशका १९ जिल्लामा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालित विभिन्न क्याम्पसहरूमा करिब एक हजार सात सय विद्यार्थी अध्ययनरत रहेको उपकुलपति प्राडा यादवले जानकारी दिए । अहिले सो विश्वविद्यालयको मातहतमा आङ्गिक पाँच र सम्बन्धन प्राप्त ६९ गरी ७४ वटा क्याम्पस रहेको छन् ।