काठमाडौं । गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको स्रोतसाधन कास्की जिल्लामा केन्द्रित भएको देखिएको छ । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक प्रतिवेदनअनुसार गण्डकीका ११ जिल्लामध्ये कास्कीले कुल निक्षेप र कर्जा प्रवाहमा झन्डै ५५ प्रतिशत हिस्सा ओगटेको छ ।
प्रतिवेदनअनुसार गण्डकी प्रदेशका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ, तनहुँ, नवलपरासी (पूर्व), स्याङ्जा, पर्वत र बाग्लुङसहितका ११ जिल्लामध्ये निक्षेप तथा कर्जा प्रवाहमा कास्की जिल्लामा मात्रै झन्डै ५५ प्रतिशत प्रवाह भएको देखिएको छ ।
२०८१ पुस मसान्तसम्म गण्डकी प्रदेशमा कुल पाँच खर्ब ५५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप परिचालित भएको छ, जसको ५५ प्रतिशत कास्की जिल्लाबाट संकलन गरेको छ । यस्तै, कुल तीन खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा ५५ दशमलव छ प्रतिशत कास्कीमै केन्द्रित छ । सबैभन्दा कम कर्जा प्रवाह मनाङ जिल्लामा शून्य दशमलव एक प्रतिशत देखिएको छ ।
यसैगरी, २०८१ पुस मसान्तमा गण्डकी प्रदेशमा निक्षेप खाताको संख्या सात प्रतिशतले वृद्धि भई ६३ लाख ६५ हजार तीन सय ३५ पुगेको छ भने ऋण खाताको संख्यामा १८ प्रतिशतले वृद्धि भई दुई लाख २७ हजार दुई सय ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप खाता १४ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो भने ऋण खाताको संख्या भने २१ दशमलव पाँच प्रतिशतले ह्रास आएको थियो ।
आर्थिक वर्ष २०८१/८२ को समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडका नौ वटा नोट कोषमा आठ अर्ब ३० करोड ६६ लाख तोडाचलान भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सात अर्ब ३० करोड तोडाचलान भएको थियो । २०८१ पुस मसान्तमा प्रदेशमा इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या क्रमशः दुई लाख ७३ हजार र २८ लाख छ हजार पुगेको छ । साथै, एटीएम मेसिनको संख्या छ सय १६ पुगेका आर्थिक वर्ष २०८१/८२ को समीक्षा अवधिमा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयबाट एक अर्ब नौ करोड ७७ लाख बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८६ करोड ९५ लाख बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको थियो ।
गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थामा कुल परिवत्र्य विदेशी मुद्रामध्ये अमेरिकी डलर १४ दशमलव ३९ प्रतिशत, युरो १८ दशमलव ४९ प्रतिशत र अन्य मुद्रा ६७ दशमलव १२ प्रतिशत छ । समीक्षा अवधिमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट चार करोड ६६ लाख बराबरको भारतीय मुद्रा बिक्री भएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा दुई सय ७१ दशमलव ९४ प्रतिशतले बढी हो । त्यस्तै, समीक्षा अवधिमा २८ लाख बराबरको भारतीय मुद्रा खरिद भएको छ । यसैगरी आव २०८१/८२ को अर्धवार्षिक प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल कास्की जिल्लामा सबैभन्दा धेरै र मनाङ जिल्लामा सबैभन्दा कम रहेको छ ।
गण्डकी प्रदेशमा प्रतिशाखा जनसंख्या एक हजार सात सय ५७ रहेको छ । यो प्रदेशको ११ जिल्लामध्ये प्रतिशाखा जनसंख्या सबैभन्दा बढी बाग्लुङमा दुई हजार तीन सय आठ र सबैभन्दा कम मनाङमा तीन सय ३३ रहेको छ । प्रतिवेदनअनुसार आव २०८१/८२ को पुस मसान्तसम्ममा गण्डकी प्रदेशका ११ जिल्लामा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाको शाखा गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ४३ प्रतिशतले बढेर १४ सय चार पुगेको छ । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्तको शाखा संख्या क्रमशः छ सय पाँच, एक सय ८९, ३७ र पाँच सय ७३ रहेको प्रतिवेदनमा उल्लेख छ ।
२०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा गण्डकी प्रदेशमा निक्षेप परिचालन ११ दशमलव ३५ प्रतिशतले बढेर पाँच खर्ब ५५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेप २३ दशमलव ९८ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा कुल कर्जा लगानीमा ११ दशमलव ९७ प्रतिशतले बढेर तीन खर्ब ४९ अर्ब ६३ करोड रहेको छ । कुल कर्जामध्ये कृषि क्षेत्रमा २६ अर्ब दुई करोड, औद्योगिक क्षेत्रमा २८ अर्ब ६२ करोड, सेवा क्षेत्रमा एक खर्ब १० अर्ब २० करोड र अन्य क्षेत्रमा (रियल स्टेट, शिक्षा, उपभोगलगायतका अन्य क्षेत्रमा) एक खर्ब ८४ अर्ब ७७ करोड कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।
गण्डकी प्रदेशको बैंकिङ गतिविधिमा कास्की जिल्ला स्पष्टरूपमा प्रमुख केन्द्र बन्दै गएको छ । निक्षेप, कर्जा, बैंकिङ प्रविधिको प्रयोगदेखि शाखा सञ्जालसम्म सबै सूचकहरूमा कास्कीले अग्रता लिएको छ, भने मनाङलगायतका दुर्गम जिल्ला बैंकिङ पहुँचको हिसाबले अझै पनि पछाडि परिरहेका छन् ।