काठमाडौं । एनआईएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रही नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले निष्काशन गरेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत–२०८८/८९’ नामको हरित ऊर्जा ऋणपत्रको बाँडफाँट बिहीबार एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँट सम्पन्न भएको छ ।
पाँच अर्ब रकमबराबरको यस हरित ऋणपत्रका लागि उत्साहजनकरुपमा ३ दशमलव ८ गुणाभन्दा बढी आवेदन प्राप्त भएको छ । जसले नेपाली बजारको वित्तीय दृष्टिकोणप्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ । कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआईएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०८२/०२/१८ गते देखि २०८२/०२/२५ गतेसम्म निष्काशन गरिएको थियो । उक्त निष्काशनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरूमार्फत उत्साहजनक सहभागिता रहेको छ ।
एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे भन्छन्, ‘नेपालको पहिलो हरित ऊर्जा ऋणपत्रको सार्वजनिक निष्काशनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु हाम्रो लागि निकै गर्वको कुरा हो । यो पहल नवीनता र दुरदर्शितामा आधारि हाम्रो सिद्धान्तको स्वभाविक विस्तार हो । एनआइएमबि एस क्यापिटलको तर्फबाट हामी यस्तो ऐतिहासिक पहलमा अग्रसर हुन पाएकोमा उत्साहित छौँ । आगामी दिनहरूमा अझै यस्ता अर्थपूर्ण परियोजनाहरू लिएर आउने विश्वास दिलाउन चाहन्छौँ ।’
सात वर्षको अवधि रही वार्षिक छ प्रतिशत ब्याजदर भएको यस ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिकरुपमा जारी गरिएको हरित ऊर्जा ऋणपत्र रहेको छ । यस हरित ऊर्जा ऋणपत्र निष्काशनको कार्य सम्पन्न भइसकेको सन्दर्भमा यस प्रक्रियामा सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सीडीएस एन्ड क्लियरिङ, विदेशी दातृ निकायहरू, ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी, कम्पनीका सहयोगीहरू तथा पत्रकार वृत्तलगायत सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवादज्ञापन गर्दै बाँडफाँट कार्यक्रम सम्पन्न भएको थियो ।