काठमाडौं । नेपाल पर्यटन बोर्डले विश्वभरका पर्यटन व्यवसायीहरूलाई नेपालसँग जोडिन आग्रह गरेको छ । बिहीबारदेखि हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा सुरु भएको अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ–२०२५ मा बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरू अवलोकन गर्न निम्तो दिएका हुन् ।
वरिष्ठ प्रबन्धक भट्टराईले नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रस्तुतीकरण समेत गरेका थिए । १५ जुनसम्म जारी रहने प्रदर्शनीमा बोर्डले नेपालको प्याभिलियन राखेर हङकङ र क्षेत्रीय पर्यटन बजारमा नेपाली गन्तव्यहरूको बजारीकरण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । नेपाली प्याभिलियनमा प्राचीन सम्पदा, हिमाली शिखर, दुर्लभ वन्यजन्तु, सांस्कृतिक अनुभव र साहसिक गतिविधिहरूलाई आकर्षकरूपमा प्रस्तुत गरिरहेको छ । नेपाली प्याभिलियनमा हङकङका लागि महावाणिज्यदूत डा विन्देश्वर प्रसाद लेखकले भ्रमण गरेका थिए । सो क्रममा उनले आईटीई २०२५ मा प्रचारका अवसरहरूलाई अधिकतम उपयोग गर्न प्रोत्साहन गरे ।
नेपाल प्याभिलियनमा हिमालयन क्लब टुर्स एन्ड ट्राभल, पर्ल हलिडेज प्रालि, अल्पाइन क्लब अफ हिमालयन, कनेक्ट माइस प्रालि, नर्थ नेपाल ट्राभल एन्ड ट्रेक प्रालि, सातोरी एड्भेन्चर्स प्रालि, जुगल हलिडेज प्रालि र क्यान्टन इन्टरनेसनल ट्राभल सर्भिस नेपाल प्रालि सहभागी छन् । बोर्डले विश्वका विभिन्न मुलुकमा पुगेर नेपालका सांस्कृतिक सम्पदा, हिमाली दृश्य र रोमाञ्चक साहसिक गतिविधि प्रदर्शन गरिरहेको छ । यस्ता गतिविधिले नेपालको पर्यटन प्रवद्र्धन र विदेशी मुद्राको आर्जनमा राष्ट्रलाई टेवा पु¥याउने विश्वास लिएको बोर्डको विज्ञप्तिमा उल्लेख छ ।