काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यो आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले चार अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको पस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रालिका प्रबन्ध निर्देशक मोहनविक्रम कार्कीले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । ताप्लेजुङ्ग जिल्लाको माथिल्लो मेवा खोलामा निर्माण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत् आयोजनाको अनुमानित लागत छ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट तीन वर्षभित्र सम्पन्न हुनेछ ।
ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ८५ वटा एटीएम, एक सय ५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।