काठमाडौं । एनएमबि बैंकले माथिल्लो मैवा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन कार्य सम्पन्न गरेको छ । एनएमबि बैंक तथा काङ हाइड्रोपावर कम्पनी लि.बीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ जिल्ला, मैवा तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा जलविद्युत् आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो ।
एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल चिफ, सस्टेनेबल इनर्जी बैंकिङ तथा काङ हाइड्रोपावर कम्पनी लि.को तर्फबाट प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपश्चात् एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले ऋण सम्झौतापत्र आदानप्रदान गरे । सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सीमाभित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखी सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे । गणेशप्रसाद सुब्बाले एनएमबि बैंकलाई धन्यवादज्ञापन गर्नुका साथै माथिल्लो मैवा जलविद्युत् आयोजना निर्धारित लागत तथा समयसीमामा सम्पन्न गर्ने प्रतिबद्धता समेत जाहेर गरी कार्यक्रमको समापन गरे । एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत् आयोजनाहरूमा लगानी गरिसकेको छ ।