काठमाडौँ । नेपाल–भारत शैक्षिक नेतृत्व शिखर सम्मेलन २०२५ आयोजना गरिएको छ । ‘शिक्षामा सहकार्यको साझा दृष्टिकोण’ भन्ने मूल नारासहित हालै काठमाडौंको र्याडिसन होटलमा सो सम्मेलन आयोजना गरिएको हो ।
भारतको प्रतिष्ठित शैक्षिक संस्था ग्राफिक एरा ग्रुप र नेपालमा शैक्षिक सहकार्य प्रवर्द्धन गर्दै आइरहेको संस्था एजुकेसनलाइज–कनेक्ट टु ग्रोको संयुक्त आयोजनामा भएको सम्मेलनले नेपाल–भारत शैक्षिक सम्बन्धलाई थप बलियो बनाएको जनाइएको छ । सम्मेलनमा शिक्षा क्षेत्रका वरिष्ठ नेतृत्वकर्ताहरूको उपस्थिति रहेको थियो । ग्राफिक एरा ग्रुप भारतका संस्थापक प्रोफेसर कमल कुमार घन्शालाले शैक्षिकरूपान्तरण, नेतृत्वको दर्शन र समावेशी सहकार्यको बारेमा आफ्ना धारणा राखेका थिए । यस्तै, सम्मेलनमा सहभागी वक्ताहरूले नेपाली शैक्षिक प्रणालीमा नेतृत्व, शिक्षक–विद्यार्थी सम्बन्ध, पाठ्यक्रम विकास, र प्रविधिको प्रयोगजस्ता विषयमा आ–आफ्ना दृष्टिकोण राखेका थिए । सम्मेलनले विभिन्न विद्यालय तथा संस्थाबीच सहकार्यको नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ ।