नयाँदिल्ली । इजरायल र इरानबीचको तनावका कारण भारतमा बासमती चामलको मूल्य घट्न सक्छ । इजरायलसँगको युद्धका कारण इरानले आगामी हप्ताहरूमा भारतबाट बासमती चामलको आयात घटाउन सक्छ । निर्यात बढेको कारणले गर्दा पछिल्लो दुई महिनामा देशमा बासमती चामलको मूल्य १५/२० प्रतिशतले बढेको छ ।
कृषि तथा प्रशोधित खाद्य निर्यात विकास एजेन्सीका अनुसार, साउदी अरेबिया र इराकपछि इरान भारतीय बासमती चामलको तेस्रो ठूलो खरिदकर्ता हो । २०२४–२५ मा, भारतले इरानलाई छ हजार तीन सय ७४ करोडको बासमती चामल निर्यात गरेको थियो, जुन त्यस अवधिमा भारतको कुल बासमती निर्यातको १२ दशमलव छ प्रतिशत थियो ।
भारतीय बासमती चामलको मूल्य प्रतिकिलो ७५/९० रुपैयाँमा झरेको बेला, पश्चिम एसियाका प्रमुख आयातकर्ता देशहरू र इरानले आफ्नो खरिद बढाए । यसपछि, देशमा बासमती चामलको मूल्य बढ्यो ।
विश्वव्यापी निर्यात माग कम रहँदा अप्रिलमा भारतीय बासमती चामलको मूल्य सबैभन्दा कम बिन्दुमा पुगेको थियो । तर त्यसपछि निर्यात मागमा वृद्धि भयो, किनकि सबैजना कम मूल्यमा बासमती चामलको भण्डारण गर्न चाहन्थे । यस कारण, मे महिनामा निर्यातमा वृद्धि भयो र मूल्यमा पनि लगभग १५ देखि २० प्रतिशत बढेको थियो ।