काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ८० अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने तीन दशमलव ९० अंकले ओरालो लागेर २६ सय ५४ दशमलव ७५ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६७ अंकले ओरालो लागेर चार सय ५२ दशमलव ४८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय छ वटा कम्पनीहरुको ७० हजार ७७ पटकको कारोबारमा एक करोड ६४ लाख सात सय ७५ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम सात अर्ब ६५ करोड ३२ लाख ४९ हजार तीन सय १२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, लघुवित्त र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।