काठमाडौं । काठमाडौंमा नौ वर्षअघि आफ्नो छुट्टै रंग र नामबाट सेवामूलक व्यवसाय सुरु गरेको महानगर यातायात प्रालिकै नक्कल गरी उस्तै रंग र मिल्दोजुल्दो नामबाट अन्य कम्पनीहरूले पनि यातायात सञ्चालन गरेपछि सक्कलीको छाया पार्दै नक्कली महानगरको बिगबिगी बढेको पाइएको छ ।
सक्कली महानगर यातायातले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नक्कली महानगर यातायातहरूले दिएको दुःख र राज्यले गरेको उपेक्षाको विषयमा जानकारी गराएको हो । कार्यक्रममा महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले उस्तै रंग, साइज र नामको कारण नक्कली महानगर यातायातको बसभित्र चोरी, पाकेटमारी र बलात्कारका घटना हुँदा समेत सक्कली महानगर यातायातकै नाम आउने गर्दा संस्थाको प्रतिष्ठामा अपूरणीय क्षति पुगेको भन्दै नक्कली महानगर यातायातहरू यो नसच्याए क्षतिपूर्तिको मागदाबीसहित कानुनी प्रक्रियामा जाने बताए ।
महानागर यातायात प्रालिकै नाम, रंग र डिजाइन समेत नक्कल गरी सोही आकार प्रकारको बसहरूलाई सक्कली महानगर गुड्ने रुटमै नक्कली महानगर यातायातलाई चलाउन अनुमति दिएपछि महानगर यातायात प्रालिले आपत्ति जनाउँदै पटकपटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदा पनि कुनै कारबाही नभएको महानगर यातायातका अध्यक्ष खतिवडाले बताए ।
नियमअनुसार सम्बन्धित निकायमा दर्ता गराई आवश्यक प्रक्रिया पु¥याएर गरिएको व्यवसायमा सोही काम र नामको अर्को कम्पनी सञ्चालन गर्ने अनुमति सम्बन्धित निकायले दिँदैन । तर विद्यमान नियमकानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको सुरुवाती दिनबाटै निर्वाधरूपमा नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन भइरहेको अध्यक्ष खतिवडाले बताए ।
समस्या सुरु भएसँगै समाधानको लागि पटक–पटक प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभागलगायतका निकायमा निवेदन नै दिएर कारबाहीका लागि अनुरोध गरे पनि समस्या समाधानका लागि कुनै पहल नभएको कार्यक्रममा अध्यक्ष खतिवडाले बताए । अध्यक्ष खतिवडाका अनुसार यातायात विभागले चार वर्षअघि केही त्यस्ता नक्कली गाडीहरू समातेर सचेत गराए पनि त्यो औपचारिकतामै सीमित बनेको हो ।
खतिवडाका अनुसार महानगर यातायातले राजधानी काठमाडौंमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको र निकट भविष्यमै पब्लिक लिमिटेड कम्पनीको रूपमा आमजनतामाझ आफ्नो सेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ ।
२०७२ साल फागुनबाट ३९ सिटी बसमार्फत आफ्नो सेवा सुरु गरेको महानगर यातायातले हाल ८९ बसहरूबाट सेवा दिँदै आएको छ ।