काठमाडौं । पर्यटन क्षेत्रको विकासका लागि अपरिहार्य होटलको संख्या नेपालमा बढ्दो क्रममा छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मुलुकमा पछिल्लो समय डिलक्ससहितको पाँचतारे होटलेको संख्या दुई सय नाघेको छ ।
मन्त्रालयका अनुसार हाल मुलुकमा डिलक्ससहितको पाँचतारे होटल दुई सय १४ वटा छ । गत वर्षको तुलनामा डिलक्ससहितको पाँचतारे होटलको संख्या शतप्रतिशतले बढेको हो । डिलक्ससहितका पाँचतारे होटलको संख्या २०६०को अन्त्यसम्म एक सय ८२ वटा रहेकोमा हालसम्म सो संख्या दुई सय १४ वटा पुगेको हो । नेपालमा पर्यटनको सम्भावना राम्रो भएको हुँदा यस क्षेत्रमा लगानी बढ्दै गएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । नेपालमा पर्यटकहरू सधैँभरि आउने गरेको छ संख्या मात्र थपघट हुने उनीहरूको भनाइ छ ।
अप्रिलमा मात्र एक लाख १६ हजार चार सय ९० जना विदेशी पर्यटन नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । जुन हालसम्मकै उच्च पर्यटकको संख्या हो । कोरोना महामारीपूर्व सन् २०१९को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार तीन सय ९९ जना विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार तीन सय ७६ जना र सन् २०२३ को अप्रिलमा ९८ हजार सात सय ७३ जना पर्यटक नेपाल आएका थिए । पर्यटकहरू निरन्तर आउने हुँदा पर्यटकका लागि अतिआवश्यक होटल, लज तथा रिसोर्टहरू आवश्यक पर्ने देखिन्छ ।
मन्त्रालयका अनुसार पर्यटक लक्षित गरी तारेस्तरबाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या समेत बढेकोे छ । तारेस्तरबाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या हालसम्म एक हजार तीन सय ६४ वटा पुगेको छ । २०६० फागुनसम्म तारेस्तरबाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या एक हजार दुई सय ३४ वटा रहेको थियो ।
होटल, लज तथा रिसोर्टको संख्या बढ्दा यसको क्षमतामा समेत वृद्धि भएको छ । रिसोर्ट तथा डिलक्ससहितका तारे होटलमा रहेका शय्याको संख्या चालु आर्थिक वर्षको हालसम्म तीन हजार दुई सय ७० वटा थप आर्थिक वर्ष सकिन लाग्दा २० हजार तीन सय ४३ वटा पुगेको छ ।
यस्ता होटलबाहेक पर्यटकस्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शय्याको संख्या चालु आर्थिक वर्षको फागुनसम्म पाँच हजार दुई वटा रहेकोमा हाल सो संख्या वृद्धि भई ४२ हजार दुई सय ९९ वटा पुगेको छ । योसँगै ठूलो संख्यामा पर्यटक नेपाल आएको खण्डमा उनीहरूलाई खाना, बस्न, मनोरञ्जनात्मक गतिविधि गर्नका लागि सहज रहेको पाइन्छ । होटल, लज तथा रिसोर्टले खाना, बासस्थानका साथै योगा, व्यायाम, मनोरञ्जनलगायतका सेवाहरूले पर्यटकहरूलाई सहजता प्रदान गर्ने गरेको व्यवसायीहरू बताउँछन् । नेपालमा अन्तर्राष्ट्रियस्तरको सेवासुविधा प्रदान गर्ने हुँदा पर्यटकहरू नेपाल बस्न मनपराउने उनीहरूको भनाइ छ ।
पर्यटककको मनोरञ्जनको लागि लक्षित गरी सञ्चालनमा आएको क्यासिनको संख्या समेत बढेको छ । २०८१ फागुनसम्म क्यासिनो नौ वटा रहेकोमा हाल आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल खेलाउने क्यासिनो २० वटा गरी कुल २९ वटा सञ्चालनमा रहेको छ । चालु आर्थिक वर्षको असारसम्म उक्त प्रकारको क्यासिनाको संख्या २६ वटा रहेको थियो ।
पर्यटकका लागि आवश्यक पर्ने होटल, लज, क्यासिनोलगायतका संख्यामा वृद्धि हुँदा पर्यटक लक्षित विभिन्न एजेन्सको संख्या समेत बढेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको हालसम्म ट्राभल एजेन्सी चार हजार नौ सय ६३ वटा, ट्रेकिङ एजेन्सी ती हजार दुई सय ५२ वटा र ¥याफ्टिङ एजेन्सी ९७ वटा दर्ता भएका छन् । त्यसैगरी सोही अवधिमा पर्यटक यातायात सेवा एक सय ५५ वटा, टुर गाइड पाँच हजार दुई सय ६९ जना, ट्रेकिङ गाइड २७ हजार एक सय २८ जना र रिभर गाइड चार सय २५जना दर्ता भएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट हालसम्म २८ हजार दुई सय ३३ जना दक्ष जनशक्ति उत्पादन भएका छन्। यसरी नेपालको पर्यटन क्षेत्रमा आवश्यक पर्ने भौतिक संरचना, जनशक्तिलगायतका संख्या वृद्धि हुँदै गएको पाइन्छ भने सरकारले यस क्षेत्रलाई अझै व्यवस्थित गरी पर्यटन आवामगनमा वृद्धि गर्नुपर्ने व्यवसायीहरू बताउँछन् । विशेषगरी सडक बाटो सुविधा नहुँदा भारतीय र चिनियाँ पर्यटकको संख्या हालको तुलनामा शतप्रतिशतले बढ्न सक्ने उनीहरूको आकलन रहेको छ । दुई मुलुकलाई जोड्ने उच्च गुणस्तरीय सडक भएमा सडक मार्ग हुँदै आउनेको पर्यटकको संख्या बढ्ने निश्चित रहेको उनीहरूको भनाइ छ ।