काठमाडौं । आर्थिक क्षेत्रका जानकारहरूले विद्यमान नेपाली अर्थतन्त्रमाथि देखिएको बढ्दो निराशा चिर्न आर्थिक पत्रकारहरूले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । नबिल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दुई दिने ‘एड्भान्स बैंकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिस्ट’ कार्यक्रममा बोल्ने वक्ताहरूले देशमा आम निराशा बढ्दै गएको भन्दै यसमा सञ्चार माध्यमले देशमा भएका कामहरूको चर्चा पनि गर्नुपर्नेमा जोड दिए । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको तालिम शनिबार सम्पन्न भएको थियो । तालिमले बैंकिङ विषयमा समाचार लेख्ने पत्रकारहरूको क्षमता अभिवृद्धिमा सहयोग पुगेको विश्वास आयोजक संस्थाहरूको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी अधिकृत नरबहादुर थापा, नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलगायतको सहभागिता थियो । कार्यक्रममा बैंकिङ क्षेत्रको अवस्था, चुनौती र अर्थतन्त्रको विकासमा देखिएको अवरोधका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको पहिलो दिन शुक्रबार नबिल बैंकका फाइनान्स हेड सन्दिप बाबु पौडेलले ‘बैंकमा नाफा निर्धारण’को विषयमा प्रशिक्षण दिएका थिए । यसैगरी नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपक राज अवस्थी र नबिल बैंकका इन्फरमेसन सेक्युरिटी अफिसर प्रवेश पौडेलले डिजिटल वित्तीय साक्षरताको विषयमा छुट्टाछुट्टै प्रस्तुति दिएका थिए ।
यसैगरी ‘आर्थिक विकास र अबको बाटो’ विषयमा प्यानल छलफल समेत भएको थियो । नाफिजका निवर्तमान अध्यक्ष मोदनाथ ढकालले सहजीकरण गरेको उक्त छलफलमा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा, नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र अर्थविद् निशान्त खनाल वक्ताको रूपमा थिए । कार्यक्रमको दोस्रो दिन नबिल बैंकका सीईओ मनोज ज्ञवालीले सञ्चार माध्यमबाट बैंकिङ क्षेत्रले गरेको अपेक्षाबारे प्रकाश पारेका थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले सामाजिक विश्वसनीयतामा कमी आउँदा त्यसले आम जनतामा निराशा छाएको उल्लेख गरे । अर्थतन्त्रका बारेमा नजान्दै धारणहरू राख्ने व्यक्तिहरू र तथ्यमा आधारित नभई सूचना सम्प्रेषण गर्ने मिडियाका कारण जनतामा विश्वसनीयता गुम्दै गएको धारणा राखे । उनले बैकिङ क्षेत्र मात्रै नभएर अर्थतन्त्रका बारेमा देखिएका सकारात्मक पक्षमा समेत जोड दिन आग्रह गरे ।
यस्तै, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले सूचनाको संवाहक रहेका पत्रकारहरूले वित्तीय क्षेत्रको जोखिम बुझेर संवेदनशीलता अपनाउन पत्रकारहरूलाई आग्रह गरे । ‘तथ्यगत सूचना सम्प्रेषण गरेर वित्तीय क्षेत्रको संवेनशीलतालाई पत्रकारले बुझेर समाचार सम्प्रेषण गर्नुहुन अनुरोध गर्छु’, उनले भने ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रको सूचना सम्प्रेषण गर्दै गर्दा तथ्यमा आधारित भएर मात्र गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । बैंकहरू निजी नभएर सार्वजनिक संस्था भएको हुँदा तथ्यमा आधारित भएर मात्रै समाचार सम्प्रेषण गर्न आवश्यक रहेको उनको भनाइ छ । यद्यपि, बैंकहरू पनि गलत रहेको उदाहरण दिँदै सही र गलत छुट्याएर मात्रै समाचार लेख्न सकिने उनले बताए । बैंक निजी नभएर सार्वजनिक हो र सर्वसाधारणकै बचतले चलेको छ भन्ने बुझाउन मिडियाको भूमिका महत्वपूर्ण रहने उनको तर्क थियो ।
नाफिजकी अध्यक्ष मेनुका कार्कीले यसप्रकारको तालिमले पत्रकारहरूको कलम गहन र अझै प्रभावकारी ढंगले चल्ने बताइन् । उनले दिनप्रतिदिन बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्दै जाँदा जनमानसमा यो क्षेत्र समस्यामा पर्ने हो कि भन्ने आशंका उब्जाएको समेत बताउँदै समाधानतर्फ राष्ट्र बैंक लाग्नुपर्ने धारणा राखिन् । देशमा देखिएको निराशा चिर्नलाई उद्यमीहरूलाई प्रोत्साहन गर्दै हरेक बैंकले सहजरूपमा कर्जा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।