काठमाडौ । जिल्ला अदालत, काठमाडौंले नेपाल बाल संगठन (बालमन्दिर)का पूर्वमहासचिव गणेशभक्त श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । नक्सालस्थित बालमन्दिरको जग्गा सस्तोमा भाडामा दिएर ठगी गरेको प्रकरणका फरार श्रेष्ठ सोमबार जिल्ला अदालत हाजिर भएका थिए ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । चलनचल्तीभन्दा कम दरमा भाडामा दिएर ठगी गरेको भन्दै बाल संगठनका तर्फबाट प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि अनुसन्धान गरेको सीआईबीले बालमन्दिरकी पूर्वअध्यक्ष रीतासिंह वैद्यसहितका पदाधिकारीहरूविरुद्ध पक्राउ पूर्जी लिएर अनुसन्धान गरेको थियो ।
प्रहरीले प्रतिवादी बनाएर २७ वैशाख २०८१ मा मुद्दा दायर गरेकोमध्येका श्रेष्ठ सोमबार हाजिर भएका हुन् । प्रहरीले बृहस्पति विद्या सदनका अधिकारीहरूलाई समेत प्रतिवादी बनाएको थियो । बाल मन्दिरका पदाधिकारीहरूले सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेका थिए । नक्सालमा बाल संगठनको नाममा ११९ रोपनी १२ आना तीन पैसा जग्गा छ । त्यसमध्ये २८ रोपनी पाँच आना एक पैसा जग्गा नेपाल बाल संगठनले बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन)लाई भाडामा दिने सम्झौता गरेको थियो ।