बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता २०२५ मे महिनाको अन्त्यसम्म तीन दशमलव ६१ अर्ब किलोवाट पुगेको छ । राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार दिएको जानकारीअनुसार यो क्षमता अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलव आठ प्रतिशतले बढी हो ।
कुल क्षमतामध्ये सौर्य ऊर्जाको योगदान उल्लेखनीय रहेको छ । सौर्य विद्युत् उत्पादन क्षमता एक दशमलव शून्य आठ अर्ब किलोवाट पुगेको छ । जसमा गत वर्षको तुलनामा ५६ दशमलव नौ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै, पवन ऊर्जाको उत्पादन क्षमता पनि वृद्धि भई ५७ करोड किलोवाट पुगेको छ, जुन २३ दशमलव एक प्रतिशतले बढेको हो ।
लगानीको पक्षमा हेर्दा, मुख्य विद्युत् उत्पादन कम्पनीहरूले सन् २०२५ को जनवरीदेखि मे महिनासम्मका अवधिमा विद्युत् उत्पादन परियोजनाहरूमा कुल दुई सय ५७ दशमलव आठ अर्ब युआन (अन्दाजी ३५.९५ अर्ब अमेरिकी डलर) लगानी गरेका छन् । यो लगानी अघिल्लो वर्षको तुलनामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको हो ।
यस्तै, विद्युत् प्रसारण र वितरण (ग्रिड) परियोजनाहरूमा गरिएको लगानीमा पनि १९ दशमलव आठ प्रतिशतको वृद्धि भई कुल दुई सय चार अर्ब युआन पुगेको उल्लेख गरिएको छ ।