दोलखा । कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ६५ करोड ७६ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाउँसभाको १५ औँ अधिवेशनमा उपाध्यक्ष कुल बहादुर बुढाथोकीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा प्रस्तावित बजेट सार्वजनिक गरेका हुन् । पालिकाले चालूतर्फ ४६ करोड आठ लाख ४५ हजार रुपैयाँ र पुँजीगततर्फ १६ करोड ६८ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । उपाध्यक्ष बुढाथोकीलेले संघीय सरकार र प्रदेश सरकारको विभिन्न शीर्षकका अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम र आन्तरिक स्रोतलाई आधार मानेर बजेट बनाइएको जानकारी दिए ।
गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट एकैसाथ सोमबार नै गाउँसभामा पेस गरेको गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जानकारी दिए । तर यसअघि गाउँपालिकाको सूचना शाखाले भने सो सभामा वार्षिक नीति तथा कार्यक्रम मात्रै प्रस्तुत भएको अधुरो जानकारी दिएको थियो ।