काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृतरूपमा विदेशी पर्यटकको संख्या बढ्न नसकेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डले बुधबार आयोजना गरेको पर्यटक सवारीचालक तथा सहचालक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा उनले आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको बताए । ‘अहिले पूर्वाधारको अभावमा हामीले लक्ष्यअनुसार पर्यटक ल्याउन सकेका छैनौँ, यद्यपि मुलुकभर सडकलगायतका पूर्वाधार निर्माण तथा विस्तार भइरहेको सन्दर्भमा आगामी दुईपछि पर्यटक बढाउन सकिन्छ’, उनले भने, ‘यसका लागि सम्बन्धित पक्ष जिम्मेवार भएर पूर्वाधार निर्माणमा सक्रिय हुनुपर्छ ।’ उनले पर्यटकलाई लक्षित गरेर सेवा दिने गुणस्तरीय हुनुपर्नेमा समेत सुझाव दिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालका वरिष्ठ प्रहरी नायब निरीक्षक राजीव विष्टले पर्यटक सवारी चालकहरू आफैँ जिम्मेवार हुनुपर्नेमा जोड दिए । ‘सवारी चालक र सहचालक जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ, चालकहरूले ट्राफिकका लागि नभई आफ्ना लागि नियम पालना गर्नुपर्छ’, उनले भने । नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष वेदराज बास्तोलाले चालक आफैँ सक्षम भए आफू र पर्यटकलाई सुरक्षितरूपमा गन्तव्यमा पु¥याउन सक्ने बताए । यस प्रशिक्षणले चालक र सहचालकलाई सक्रिय, दक्ष र सुरक्षाका उपाय अपनाउनेबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने उनको भनाइ छ । यात्रामा चालक मात्र नभई सहचालक पनि उत्तिकै जिम्मेवार हुन आवश्यक रहेको उनले बताए । दुई दिने तालिममा पर्यटक सवारीका चालक तथा सहचालक गरी ९२ जनाको सहभागिता छ ।