वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । अब छिट्टै भारतसँग पनि अर्को सम्झौता हुने जानकारी दिएका छन् ।
अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले पनि यो सम्झौतामा दुई दिनअघि ‘हस्ताक्षर र छाप लगाइएको’ पुष्टि गरेका छन् । गत मे महिनाको सुरुमा जेनेभामा भएको प्रारम्भिक वार्ताको परिणाम भएको उनले बताएका छन् । वार्ताले दुवै पक्षलाई ठूला भन्सार शुल्क वृद्धि स्थगित गर्न प्रेरित गरेको थियो । भन्सार शुल्क वृद्धिले दुई देशबीचको धेरैजसो व्यापार स्थगित गर्ने खतरा थियो ।
पछि लन्डनमा भएको वार्ताले वार्ताका लागि रूपरेखा तय ग¥यो र ट्रम्पले उल्लेख गरेको सम्झौताले त्यो सम्झौतालाई औपचारिक रूप दिएको देखिन्छ ।
चीनले कुनै नयाँ सम्झौताको घोषणा गरेको छैन, तर यसले यस हप्ताको सुरुमा दुर्लभ खनिज तत्व, विद्युतीय सवारीजस्ता उच्च–टेक उत्पादनहरूमा प्रयोग हुने सामग्रीहरूको निर्यात स्वीकृतिको गति बढाइरहेको घोषणा गरेको थियो ।