काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवद्र्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । फोन–पे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहजरूपमा प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।
भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटलरूपमा जारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकहरूले आफ्नो कुमारी स्मार्ट एपमार्फत सहजै मोबाइलबाट सुचारु गर्न सक्नेछन् । फोन–पेको क्यूआर मर्चेन्टहरूमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म विनाब्याज (सर्तहरू लागू हुनेछन्) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शत प्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन् ।
विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना तीन सय दुईवटा शाखा, तीन सय १८ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ एकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । एटीएम, पस तथा ग्रीन पीन सुविधा विस्तार गर्नुका साथै भिसा, मास्टर कार्ड तथा यूपीआई कार्ड देशभरका एटीएम र पसमा लागू गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैंकले आगामी दिनहरूमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाहरू प्रदान गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।