काठमाडौं,अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई विशेष छुट अन्तर्गत निरन्तरता दिने निर्णय गरेको छ। एमसिए–नेपालले बुधबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
अमेरिकी वैदेशिक सहायता पुनर्मूल्यांकनका बीच नेपाल कम्प्याक्टलाई कार्यान्वयनमा राख्ने निर्णयलाई एमसिए–नेपालले स्वागत गरेको छ। हालसम्म तीन वटा ४०० केभी सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइनको ठेक्का लगाइसकेको एमसिएले बाँकी २९७ किमि प्रसारण लाइन र सडक सुधारसम्बन्धी कार्यलाई पनि अगाडि बढाइरहेको जनाएको छ।
नेपाललाई प्रारम्भमा ५० करोड अमेरिकी डलर अनुदान दिने सहमतिपछि लागत वृद्धिका कारण ५ करोड डलर थप अनुदान दिने निर्णय एमसीसी बोर्डले यसअघि नै गरिसकेको छ।