काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ तिप्लास्थित ‘दुर्गा प्राथमिक विद्यालय’ नामक विद्यालय अस्तित्वमै नरहेको पत्ता लागेपछि चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्यालयको न त भवन छ, न शिक्षक, न विद्यार्थी। तर पनि उक्त काल्पनिक विद्यालयको नाममा आर्थिक वर्ष २०६७।०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट ७ लाख ६० हजार रुपैयाँ निकासा गरी दुरुपयोग गरिएको अनुसन्धानबाट खुलेको हो।
आयोगका अनुसार जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले मिलेमतोमा झुटा कागजात बनाएर रकम दुरुपयोग गरेका हुन्।
अख्तियारले घटनालाई “पूर्वनियोजित षड्यन्त्र र अहंकारपूर्ण भ्रष्टाचार” को संज्ञा दिएको छ। वास्तविकता खुल्नासाथ दुर्गा प्राथमिक विद्यालयको ठाउँमा ‘श्री लालिगुँरास आधारभूत विद्यालय’ मात्र रहेको पुष्टि भएको हो।