काठमाडौँ,नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीभित्र मौलाउँदै गएको भ्रष्टाचार संरक्षणको प्रवृत्तिमाथि आक्रोशपूर्ण टिप्पणी गरेका छन्। बैठकमा धारणा राख्दै शिवाकोटीले पार्टीभित्रबाटै कांग्रेसको आत्मा कुण्ठित बनाइएको आरोप लगाए। उनले संसदबाट निलम्बन भएका नेताहरूले बैठकमै धम्कीपूर्ण र अमर्यादित भाषा प्रयोग गर्दा नेतृत्व मौन बस्नु दुःखद रहेको बताए।
“बैठकमा धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण जस्तो स्थिति बन्यो,” भन्दै उनले हिंस्रक र अराजक शैलीमा बोलेका नेताहरूलाई रोक्न नसकिने हो भने कांग्रेसले गन्तव्य गुमाउने चेतावनी दिए।
शिवाकोटीले महामन्त्री गगन थापामाथि भइरहेको नियोजित आक्रमणको पनि विरोध गर्दै भ्रष्टाचारको प्रमाण भए कानुनी बाटो अपनाउन चुनौती दिए। सभापति देउवातर्फ इङ्गित गर्दै उनले पार्टी संरचना निष्क्रिय बनाएको र भ्रातृ संस्थामा नेतृत्व परिवर्तन आवश्यक रहेको औँल्याए। शिवाकोटीको तीव्र धारणा पछिल्लो समय कांग्रेसभित्र बढ्दो असन्तोष र आन्तरिक खिचातानीको संकेतका रूपमा हेरिएको छ।