काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका एसपी योगेन्द्र खड्काबीचको विवादित फोन संवाद सार्वजनिक भएको छ। अडियोमा यादवले एसपीलाई अपशब्द बोल्दै ‘तिमीहरू मधेशमा लुट्न आएको’ आरोप लगाएका छन्। ‘ए, एसपी ए एसपी सुन्!’ भन्दै यादवले गालीगलौज गरेपछि एसपी खड्काले पनि कडा जवाफ दिएको अडियोमा स्पष्ट सुनिन्छ। घटनापछि नेपाल प्रहरीले अडियोको सत्यता र घटनाको पृष्ठभूमि छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, “घटना के हो, कसरी भयो भन्नेबारे छानबिनका लागि हामीले निर्देशन दिइसकेका छौं।” राजनीतिक दलका नेताहरू र सुरक्षाकर्मीबीचको यस्तो व्यवहारप्रति सर्वत्र चासो बढेको छ।