काठमाडौँ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले पार्टीले निर्देशन दिएमा पद छाड्न तयार रहेको बताएका छन्। संघीय निजामती विधेयकमा विवादित ‘कुलिङ अफ पिरियड’ व्यवस्थापछि उनी चौतर्फी आलोचनामा परेका हुन्।
पार्टी बैठकमा बोल्दै खतिवडाले, “सभापतिको हैसियतमा मेरो पनि गल्ती छ। पार्टीले बाहिर बस भन्यो भने म तयार छु,” भन्दै आलोचनालाई स्वागत गर्ने संकेत दिए। उनले संसदीय समितिको निर्णय बदनाम गर्ने शैलीमा प्रस्तुत नगर्न अपिलसमेत गरे।
खतिवडाले पार्टीभित्र शीर्ष नेताहरूमाथि चरित्र हत्या भइरहेकामा चिन्ता व्यक्त गर्दै भने, “गगन थापा कमजोर भए, बलियो को हुन्छ?” उनका अनुसार, आरजु देउवा, बालकृष्ण खाँण, मोहनबहादुर बस्नेत, रमेश लेखकजस्ता नेतामाथि प्रश्न उठाउने प्रवृत्तिले पार्टी संस्थापन कमजोर बनाउने खतरा बढेको छ। खतिवडाको भनाइले कांग्रेसभित्रको आन्तरिक असन्तुलन र नेतृत्वप्रति गहिरिंदो असन्तोष उजागर गरेको देखिन्छ।